पातारासीमा अन्धविश्वासकै कारण महिलाहरू अझै घरमै सुत्केरी

जुम्ला ।

 जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिला हालसम्म पनि घरमै सुत्केरी हुँदै आएका छन् ।

अन्धविश्वास गाउँका महिला अझै घरमै सुत्केरी गराउने गरेका हुन् । वडा नं. ३ को लौठचौरनजिकै बर्थिङ सेन्टर हुँदा पनि महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । बर्थिङ सेन्टरमा गर्भ परीक्षण गर्न आउने गरे पनि बच्चा भने घरमै जन्माउने गरेको वडाध्यक्ष गोविन्द रावतले बताए । अन्धविश्वास र धामीझाँक्रीका कारणले हुरी र महरी गाउँका महिलाले घरमै बच्चा जन्माउने गरेको अनमी दुबा बुढाले बताइन् । जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेको उनको भनाइ छ । यो वर्ष हुरी गाउँका दुई जना महिलाबाहेक अरू सबै महिलाले घरमै बच्चा जन्माएका छन् ।

छुम र चौरगाउँका महिला बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउँछन् तर हुरी र महरी गाउँका महिला घरमै बच्चा जन्माउने गरेका छन् । हुरीमा ७८ र महरीमा ५० घरधुरी रहेको वडाध्यक्ष गोविन्द रावतले बताए । हुरी र महरी गाउँबाट बर्थिङ सेन्टरसम्म आउन करिब दुई घण्टाको समय लाग्ने उनको भनाइ छ । महरीगाउँका शतप्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन् । बर्थिङ सेन्टरमा सुत्केरी हुँदा प्रोत्साहनबापत हिमाली जिल्लामा यातायातबापत तीन हजार र आठ पटक नियमित गर्भजाँच गराउँदा आठ सय रुपियाँ सरकारले दिने गरेको छ । सहज बाटो र बर्थिङ सेन्टरसम्म सुत्केरी बोकेर ल्याउने जनशक्तिको अभावमा घरमै बच्चा जन्माउने गरेको अनमी बुढाले बताइन् । व्यथा लाग्दा गाउँकै महिलाले घरमै बोलाएर सुत्केरी गराउने प्रचलन कायम छ । उनले भनिन्, स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउँदाका फाइदाका बारेमा जानकारी दिएका छौँ, अन्धविश्वासले गर्दा आउन मान्दैनन् । घरमै सुत्केरी गर्दा ज्यान जोखिममा पर्ने, सुत्केरीको सङ्क्रमण हुने, शिशुको मृत्यु जस्ता जोखिम हुन सक्ने उनको भनाइ छ ।

स्वास्थ्यकर्मीको निगरानी नहुँदा रक्तस्राव हुने र नवजात शिशुको मृत्यु जस्ता जटिल समस्या देखा पर्न सक्ने उनले बताइन् । स्वास्थ्य संस्थामा पुग्नु साटो धामीझाँक्रीको भर पर्ने चलन अझै कायम छ । वडाध्यक्ष रावतले अन्धविश्वास हटाउन अभियान चलाउनुपर्ने, धामीझाँक्रीलाई प्रशिक्षण दिई स्वास्थ्यसँग सहकार्य गर्न उत्प्रेरित गर्न सकिने बताए ।

अन्य समाचार

+ There are no comments

Add yours