शारदा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

सल्यान ।

 सल्यान जिल्लाको शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

१७ औँ अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् । उनले स्थानीय तहका सरकारलाई जनताको चुलोको सरकार भएको बताएका छन् । उनले सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारसँग जनताका गुनासो धेरै आउने गरेको बताए । उनका अनुसार ‘प्राविधिकले एउटा घरको पाँच करोडको स्टिमेट गर्छन्, पाँच करोडको टेन्डर खुल्छ तर ठेक्का दुई करोडमा लाग्छ, कम बजेटका कारण काम अलपत्र पर्छ, नीति बनाउने नेता, कर्मचारी र ठेकेदारकै कारण विकासमा समस्या देखिन्छ । हरेक कामको थालनी गर्दा आफ्नै कार्यकालमा सक्ने गरी योजना अघि बढाउनु पर्छ, विकासको लहर त चलिरहेको छ तर सबै पक्षलाई समेटेर सन्तुष्ट बनाउन चुनौती छ, सकेसम्म सबैलाई समेट्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य लक्ष्मी सुनारले तिनै तहका सरकारले जनताको आवश्यकतालाई ध्यान दिएर योजना कार्यक्रम नीति बनाउनुपर्ने बताए । उनले भने, पछाडि पारिएका वर्ग, समुदाय र लिगलाई विकासका मूलधारमा ल्याउनु पर्छ ।

शारदा नगरपालिकाको १७ औँ अधिवेशनमा आगामी आव २०८२÷८३ का लागि नीति तथा कार्यक्रम नगरप्रमुख प्रकाश भण्डारीले आत्मनिर्भर शारदा निर्माणको उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धनलगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन लक्षित गरी कृषि विकास रणनीतिक योजना (२०८१÷८५) अनुसार उन्नत बिउ वितरण, कृषक तालिम, माटो परीक्षण प्रयोगशाला स्थापना, मल आपूर्ति र उच्च मूल्यका बाली प्रवर्धन गरिने जनाएको छ । बेरोजगार युवा, महिला र विपन्न वर्गका लागि सिप विकास तालिम, स्वरोजगार प्रोत्साहन तथा लघु उद्यम प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने भनिएको छ । मेयर उत्कृष्ट कृषक पुरस्कार स्थापना गरी उद्यमशीलता र रोजगार सिर्जनामा जोड दिइने छ ।

अन्य समाचार

+ There are no comments

Add yours