जुम्ला सिंजाका सबै स्वास्थ्य संस्था पोषणमैत्री घोषित

 जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको छ ।

पालिका भित्र रहेका स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा गरिएको हो । सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पालिकाको स्वास्थ्य शाखालाई १६ वटा सूचक पूरागरी पूर्ण पोषणमैत्री घोषणा गरिएको हो । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प गरिएको छ । सोही लक्ष्यनुसार सिंजा गाउँपालिका कर्णालीका ७९ वटा पालिका मध्य पोषणमैत्री घोषणा हुने पहिलो पालिका बनेको हो ।

सोमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक ओैपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिन् । घोषणा कार्यक्रमपछि बोल्दै प्रतिनिधि सभा सदस्य विनिता कठायतले विनिता कठायतले पहिलो पोषणमैत्री पालिका घोषणा गरेर सिंजाले कर्णालीमै नमुना उदाहरण पेश गरेको बताईन् । उनले भनिन, अब विद्यालयमा पुर्ण रुपमा पोषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नु पर्छ । जुम्लाका आठै पालिका मध्य पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा हुनु सुखद पक्ष हो । घोेषणा कार्यान्वयन र उत्पादन बृद्विमा जोड दिन जरुरी छ । शारिरिक,मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पोषणमा ध्यान दिन जरुरी रहेको छ । स्थानीय सरकारले नीति तथा कार्यक्रममै पोषणका सवाललाई प्रथामिकता दिन सुझाव दिईन् । बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुको पोषण अबस्था सुधार संगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजाले हाल सम्म गरेका महत्वपूर्ण काम मध्य पोषणमैत्री स्वास्थ्य संस्था घोषणा एक एतिहासिक काम भएको बताए । पालिकाले सुरुदेखिनै शिक्षा,स्वास्थ्य,पोषण सुधारमा काम गर्दै आएको प्रतिफल देखिएको उल्लेख गरे । सिंजाको विकास तथा समृद्विका लागि प्लान ईन्टरनेश्नल नेपाल र पेश नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंया योग्य रहेको उनको भनाई छ । पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिंजा गाउँपालिकाले तोकिएका सबै सूचक पूरा गरेर जुम्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य घोषणा गर्न सफल भएकोमा बधाई दिए । घोषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरि पोषणमा सुधार ल्याउन जरुरी रहेकाले उत्पादन बढाउन तथा खानपानमा ध्यान दिन आग्रह गरे ।

सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले तोकिएका १६ वटा सूचकहरुलाइ पूरा गरेर जुम्लाकै पहिलो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा गर्न सफल भएको बताए । उनका अनुसार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्म विभिन्न तवरबाट सहयोग तथा योगदान दिने सरोकारवालाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको छ । उनले भने, यसअघि सिंजा पोषण प्रर्दशनी मेला आयोजना गरेका थियौ । आज पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भयौ । रैथानेबालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा सिंजाले उल्लेखीय काम गरेको छ । सिंजा गाउँपालिका,पेश नेपाल र प्लान ईन्टरनेश्नल नेपालको समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भएका हुन्। सिंजा गाउँपालिका घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने र पूर्ण सरसफाईयुक्त वडा तथा पालिका घोषणाको तयारीमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *