
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
‘तत्काल गर्नुपर्ने केही सुधारका कामहरू अगाडि बढाएका छौँ । तर, ती मात्रै पर्याप्त नहुन सक्छन्,’ गृहमन्त्री लेखकले भने, ‘समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर ती समस्याहरूलाई समाधान गर्ने, अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी समिति गठन गरिएको छ ।’
उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।
‘यो समितिले हाम्रो अध्यागमनका समग्र विषयमा देखा परेका समस्या समाधान हुन सक्ने गरी सुझाव प्रतिवेदन पेश हुने छ,’ उनले भने, ‘र, त्यसअनुरूप हामी अगाडि बढ्ने छौँ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको पनि बताए । गत जेठ ३० गते प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति भए पछि संसद्को गतिरोध अन्त्य गरेको थियो । माओवादी केन्द्रसँग भएको सहमतिअनुसार नै सरकारले सोमबार पूर्वमुख्य सचिव बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको
हो ।


Leave a Reply