२०८३ भदौ ७ , आइतबार

नौ स्थानीय तहको पाँच अर्बभन्दा बढीको बजेट सार्वजनिक



स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र बजेट अुनमान असार १० गते भित्र गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको बमोजिम यहाँका स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् । जिल्लाका दुई नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि एक अर्ब ९८ करोड २९ लाख १२ हजार रुपिँया बराबरको अनुमानित बजेट नगरसभाबाट पारित गरेका छन् ।

शारदा नगरपालिकाको बजेट एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँ रहेको छ भने बनगाड कुपिण्डे नगरपालिकाको बजेट ७९ करोड रुपिँया रहेको छ । तर जिल्लाको अर्को नगरपालिका बागचौर नगरपालिकाले भने नगरसभाको १४ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गरेर पारित गरेको छ भने बजेट कार्यक्रमबारे छलफल चलिरहेकाले अधिवेशनको अर्को बैठकमा पेश हुनेछ। गाउँपालिकातर्फ छत्रेश्वरी गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपिँयाको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ। आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकाससँगै वातावरण, विपद् तथा प्राकृतिक स्रोत व्यवस्थापनलाई जोड दिँदै यस गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।

यस्तै कालिमाटी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड ९५ लाख, कुमाख गाउँपालिकाले ४९ करोड ८७ लाख तथा त्रिवेणी गाउँपालिकाले ४५ करोड ८४ लाख ४१ हजार ५८४ रुपिँयाको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको दार्मा गाउँपालिकाले ४४ करोड ९२ लाख ४६ हजार तथा कपुरकोट गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर ४२ करोड ६८ लाख ८८ हजार र सिद्धकुमाख गाउँपालिकाले ३५ करोड ३७ लाख रुपियाँको बजेट पारित गरेका छन् ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार