डोल्पाको काइकेमा लेदोसहितको पहिरो, ८ घर पुरिए, ५३ घरमा क्षति

अविरल वर्षापछि डोल्पाको काइके गाउँपालिका–४, रिवा गाउँमा गएको लेदोसहितको भीषण पहिरोले ८ घर पुरिएर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने अन्य ५३ घरमा आंशिक देखि मध्यम क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काका अनुसार, गएराति करिब साढे १२ बजे बस्तीभन्दा करिब ५०० मिटर माथिबाट खसेको पहिरो मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेपछि ठूलो क्षति भएको हो।

पहिरोका कारण एउटा विद्यालय भवन पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाँकी १२ घरमा मध्यम र अन्य घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। सशस्त्र प्रहरीका सईको नेतृत्वमा ११ जनाको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको छ।

उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै घरभित्रका सामग्री निकाल्न र राहत व्यवस्थापनमा सहयोग गरिरहेको डिएसपी खड्काले जानकारी दिए।

काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि राहत र बासको व्यवस्था मिलाउन घटनास्थलतर्फ लागेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार बर्खामा मात्र बहने तीनवटा खहरे खोलाबाट ठूलो आवाजसहित माटो ढुङ्गा बग्न थालेपछि खतरा महसुस गरी धेरैजना समयमै सुरक्षित स्थानमा जान सफल भएका थिए।

घटनास्थल जिल्ला सदरमुकाम दुनैबाट करिब ६–७ घण्टाको पैदल दूरीमा पर्छ।

मानवीय क्षति नभए पनि अधिकांश घरमा लेदो पसिसकेकाले स्थानीयहरू विस्थापित भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *