सेटिंग मिलाएर वन मास्ने प्रवृत्ति रोक्नुपर्छ : मुख्यमन्त्री कंडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वन क्षेत्र घट्दै गइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै उनले मिलेमतोमा वन मास्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई तत्काल रोक्न आवश्यक रहेको बताए।

“प्रत्येक वर्ष लाखौं विरुवा रोपिन्छन्, राज्यको ठूलो लगानी हुन्छ, तर वन क्षेत्र विस्तारको सट्टा संकुचित हुँदै गएको छ,” उनले भने, “अब सेटिंग मिलाएर वन मास्ने प्रवृत्तिको अन्त्य गर्नैपर्छ।”

मुख्यमन्त्री कंडेलले रोपिएका विरुवाको संरक्षण र रेखदेखमा सरोकारवालाहरूको सक्रियता आवश्यक रहेको उल्लेख गरे। उनले कर्णालीको समृद्धिमा वन क्षेत्र महत्वपूर्ण स्रोत बन्न सक्ने तर यसको समुचित उपयोग हुन नसकेको धारणा पनि व्यक्त गरे।

कार्यक्रममा कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यस वर्ष सुर्खेतमा ३ लाख ५० हजार विरुवा रोप्ने लक्ष्य रहेको बताए। उनले वन विस्तार र संरक्षणका लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए।

डिभिजन वन कार्यालय प्रमुख वसन्त श्रेष्ठले रोपिएका विरुवाको नियमित रेखदेख गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र नागरिकहरूको उल्लेखनीय सहभागिता थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *