कर्णालीमा औद्योगिक विकास कमजोर, कृषि र सेवामै निर्भरता

सुर्खेत

 कर्णालीमा औद्योगिक तथा आर्थिक प्रतिष्ठान न्यून रहेका छन् । आर्थिक गणना २०७५ का अनुसार दर्जनभन्दा बढी मात्र आर्थिक प्रतिष्ठान कर्णालीमा सञ्चालनमा रहेका छन् ।

प्रदेशमा ठुला उद्योग कलकारखाना स्थापना हुन सकेका छैनन् । बेरोजगारीको अवस्था विकराल छ । लगानीमैत्री वातावरण नहुँदा जलविद्युत् आयोजना अध्ययनमै सीमित बनेका छन् । ठुला उद्योग कलकारखाना नहुँदा सरकारको आन्तरिक आम्दानी पनि न्यून छ । यो अन्य प्रदेशको तुलनामा न्यून हो । तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतले २०७५ मा आर्थिक गणना गरेको थियो । अध्ययनमा प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन क्षेत्र पर्छन् भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत्, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्छन् ।

आर्थिक गणनामा प्रदेशभर छ हजार २३५ वटा होटेल व्यवासाय रहेको पाइएको छ । प्रदेशभर १३ हजार ३९८ जनशक्ति कार्यरत छन् । वित्तीय तथा बिमा क्षेत्र ७०९ वटा रहेका छन् जसमा पाँच हजार ९५४ जनशक्ति कार्यरत छन् । शिक्षातर्फका आर्थिक प्रतिष्ठान तीन हजार ३७४ वटा रहेका छन्, यसमा २८ हजार ५१८ जनशक्ति कार्यरत छन् । यस्तै प्रदेशमा मानव स्वास्थ्य तथा सामाजिक कार्यका प्रतिष्ठान एक हजार ५५५ वटा रहेका छन्, यसमा पाँच हजार ९९७ ले रोजगारी पाएका छन् । अन्य सेवा सञ्चालन गर्ने प्रतिष्ठान एक हजार ६०७ वटा रहेका छन्, यसमा छ हजार ४३७ ले रोजगारी पाएका छन् ।

यसै गरी थोक तथा खुद्रा व्यापारका प्रतिष्ठान २२ हजार ७२८ रहेकोमा ४० हजार २९ जनशक्ति कार्यरत छन् । प्रदेशमा औद्योगिक उत्पादन प्रतिष्ठान चार हजार ४२८ वटा रहेका छन् । उक्त प्रतिष्ठानमा नौ हजार ८८३ जनशक्ति कार्यरत छन् । कृषि वन तथा माछापालन व्यवसाय प्रतिष्ठान एक हजार ५९० वटा छन् । ती प्रतिष्ठानमा चार हजार ३२४ जनशक्ति कार्यरत छन् । तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतले दोस्रो आर्थिक गणना गर्न लागेको छ । पहिलो आर्थिक गणना २०७५ सालमा गरिएको थियो । पाँच÷पाँच वर्षमा आर्थिक गणना हुने भए पनि ढिला मात्र दोस्रो आर्थिक गणना गर्न लागिएको हो । आगामी आवदेखि गणना सुरु गरिने कार्यालय प्रमुख विनोद आचार्यले बताए । उनका अनुसार दोस्रो आर्थिक गणना गर्न लागिएको हो ।

कर्णालीमा ठुला उद्योग तथा कलकारखाना नभएकाले सेवा क्षेत्र र कृषि, वन तथा खनिज क्षेत्रको योगदान बढी रहेको छ । यस्तै कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान गरिएको छ । चालु आव २०८१÷८२ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्य अनुसार ४.७४ प्रतिशत रहने अनुमान गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाडौँले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान अनुसार कर्णालीको अर्थतन्त्रको आकार, अर्थात् कुल गार्हस्थ उत्पादन, दुई खर्ब ५५ अर्ब ५९ करोड रुपियाँ हुने अनुमान गरिएको छ । यो देशको सबैभन्दा सानो आकारको अर्थतन्त्र हो । राष्ट्रिय कुल गार्हस्थ उत्पादन ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि रहेको बताए । राष्ट्रिय वृद्धिदर ४.६१ प्रतिशत रहेकामा कर्णालीको ४.७४ प्रतिशत रहेको उनले जानकारी दिए । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दो अवस्थामा रहेकाले अवस्था सन्तोषजनक रहेको उनले बताए । आव २०७९÷८० मा दुई खर्ब ३० अर्ब रुपियाँ रहेको कुल गार्हस्थ उत्पादन आव २०८०÷८१ मा दुई खर्ब ५० अर्ब रुपियाँ पुगेको थियो । चालु आव २०८१÷८२ मा दुई खर्ब ५५ अर्ब रुपियाँ पुगेको आचार्यले जानकारी दिए ।

अन्य समाचार

+ There are no comments

Add yours