सुर्खेतमा औद्योगिक प्रदर्शनी, उत्कृष्टलाई पुरस्कार

 कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले  असार २० देखि २२ गतेसम्म प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ मा अवस्थित लघु औद्योगिक ग्राममा हुने उक्त प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्यमीहरूले आफ्ना उत्पादन र सेवाको गुणस्तर, ब्रान्ड र परिमाणका बारेमा सर्वसाधारण, व्यापारी तथा सरकारी निकायलाई जानकारी दिने र उत्पादनको बजार विस्तार गर्न प्रदर्शनी आयोजना गरिएको निर्देशनालयका निर्देशक देविलाल सापकोटाले जानकारी दिए ।

प्रदर्शनीमा सहभागिता जनाउन चाहने उद्यमीहरूले २०८२ असार १७ गतेसम्म आफ्नो उद्योगका उत्पादन विवरणसहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन इमेल udyogkarnali@gmail.com मा पठाउन वा निर्देशनालयको प्रशासन शाखामा बुझाउन सकिनेछ। सहभागिताका शर्तहरू आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, उद्योग दर्ता तथा नवीकरण प्रमाणपत्र, आयकर दर्ता र करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।

अपाङ्गता र एकल महिला उद्यमीका लागि सोको प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। कृषि तथा वन पैदावारमा आधारित उत्पादन, परम्परागत सीपमा आधारित उत्पादन, महिला उद्यमी समूह वा सहकारी उद्योग र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिइनेछ।

एउटै प्रकारको उत्पादन भएकाहरूमध्ये पुरानो उद्योग र महिला, अपाङ्गता भएका व्यक्ति वा एकल महिला उद्यमीलाई प्राथमिकता दिने बताइएको छ । पुरस्कार र सुविधा प्रदर्शनीमा प्रथम हुनेलाई ५०,०००, द्वितीयलाई ३०,००० र तृतीय हुनेलाई २०,००० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । सुर्खेत बाहिरबाट आउने सहभागीलाई यातायात, ढुवानी र खानावास खर्चबापत अधिकतम ३,००० रुपैयाँ र सुर्खेत जिल्लाभित्रका सहभागीलाई ६०० रुपैयाँसम्म उपलब्ध गराइनेछ। थप जानकारीका लागि ९८४४४५०५०४ वा ९८४८०३५४३४ मा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *