कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले असार २० देखि २२ गतेसम्म प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ मा अवस्थित लघु औद्योगिक ग्राममा हुने उक्त प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।
कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्यमीहरूले आफ्ना उत्पादन र सेवाको गुणस्तर, ब्रान्ड र परिमाणका बारेमा सर्वसाधारण, व्यापारी तथा सरकारी निकायलाई जानकारी दिने र उत्पादनको बजार विस्तार गर्न प्रदर्शनी आयोजना गरिएको निर्देशनालयका निर्देशक देविलाल सापकोटाले जानकारी दिए ।
प्रदर्शनीमा सहभागिता जनाउन चाहने उद्यमीहरूले २०८२ असार १७ गतेसम्म आफ्नो उद्योगका उत्पादन विवरणसहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन इमेल udyogkarnali@gmail.com मा पठाउन वा निर्देशनालयको प्रशासन शाखामा बुझाउन सकिनेछ। सहभागिताका शर्तहरू आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, उद्योग दर्ता तथा नवीकरण प्रमाणपत्र, आयकर दर्ता र करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
अपाङ्गता र एकल महिला उद्यमीका लागि सोको प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। कृषि तथा वन पैदावारमा आधारित उत्पादन, परम्परागत सीपमा आधारित उत्पादन, महिला उद्यमी समूह वा सहकारी उद्योग र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिइनेछ।
एउटै प्रकारको उत्पादन भएकाहरूमध्ये पुरानो उद्योग र महिला, अपाङ्गता भएका व्यक्ति वा एकल महिला उद्यमीलाई प्राथमिकता दिने बताइएको छ । पुरस्कार र सुविधा प्रदर्शनीमा प्रथम हुनेलाई ५०,०००, द्वितीयलाई ३०,००० र तृतीय हुनेलाई २०,००० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । सुर्खेत बाहिरबाट आउने सहभागीलाई यातायात, ढुवानी र खानावास खर्चबापत अधिकतम ३,००० रुपैयाँ र सुर्खेत जिल्लाभित्रका सहभागीलाई ६०० रुपैयाँसम्म उपलब्ध गराइनेछ। थप जानकारीका लागि ९८४४४५०५०४ वा ९८४८०३५४३४ मा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको छ।
+ There are no comments
Add yours