लालीबगरमा अझै तुइनको भरमा यात्रा

 हिमाली जिल्ला हुम्लामा अझै तुइन तर्नुपर्ने बाध्यता हटेको छैन । खार्पुनाथ गाउँपालिका– १ र २ को सिमाना पर्ने लालीबगरको कर्णाली नदीमाथि तीन वर्षदेखि त्यहाँका स्थानीयले तुइन तर्नुपर्ने बाध्यता रहेको हो ।

खार्पुनाथ गाउँपालिका–२ का बकबिर रावलले सङ्घ तथा प्रदेश सरकारले तुइन विस्थापन गर्ने योजना ल्याएको भए पनि आफूहरू कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली कोरिडोरका दुल्लीकुना लालीबगर सडक निर्माणका क्रममा लालीबगरको भिरमा रहेको झोलुङ्गे पुल भत्किएपछि गाउँपालिकाले निर्माण गरिदिएको सो तुइनबाट स्थानीयवासी वारपार गररहेका छन् । कर्णाली नदी वारी आफूहरू र पारी कर्णाली कोरिडोरको सडक नियमित रहेको अवस्थामा स्थानीय तुइन चढेर नदी पार गर्ने र अनि गाडीमा यात्रा गर्नु परेको उनले जानकारी दिए। हिउँदे समयमा नदीको पानी कम हुँदा खासै डर नलाग्ने भए पनि बर्खामा भने नदीमा पानीको बहाब बढेको देख्दा आङै सिरिङ हुने उनको अनुभव छ ।

दुई दिनअगाडि मात्र योजनाको अनुगमन गर्नु गएका सिमकोट गाउँपालिकाका प्राविधिक विकास रोकायाले तुइन तरेर आफू वडा नं २ को थाली गाउँमा पुगेको बताए । वडा नं १ बाट २ जान छ घण्टा लामो दुरी पैदल हिँड्नुपर्ने अवस्था छ भने कि तुइन तर्नु पर्छ । तुइन पनि सामान्य काम चलाउने अवस्थामा रहेको बताउँदै उनले त्रासले वारपार गर्नुपरेको उल्लेख गरे । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले लालीबगरमा तीन वर्षदेखि तुइन सुचारु रहेको बताउँदै यो बाध्यताको उपज भएको बताए । यसअघि पनि पटक पटक झोलुङ्गे पुल निर्माणका लागि सरोकारवाला निकायसँग माग गरेको भए पनि त्यो सुनुवाइ हुन नसकेको उनले जनाए ।

वडास्तरमा अनुगमन वा अन्य कार्यक्रममा जाँदा आफूले पनि सो तुइन तरेको सुनाउँदै उनले स्थानीयलाई सुरक्षित यात्राका लागि पुल निर्माण गर्नु अति आवश्यक रहेको जानकारी दिए। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सो स्थानमा पूर्वाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आह्वान भएर निर्माण कम्पनी २०७८ सालमै छनोट भए पनि हालसम्म पनि काम सुरु गरेको छैन । यसअघि जिल्लाभर आधा दर्जन तुइन सञ्चालन हुँदै आएकोमा हाल भने लालीबगरको मात्र तुइन छ । अन्यत्र सबै विस्थापित भइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *