नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्थालाई कडा आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ जस्तो रहेको टिप्पणी गरेका छन् ।
दाहालले जनवादी क्रान्तिको क्रममा माक्र्सवादको प्रचार गर्दा संसदीय व्यवस्था कसरी समाजको मूलधारसँग मेल नखाने प्रणालीको रूपमा चित्रित गरिएको थियो भन्ने कुरा प्रस्ट पारे । उनका अनुसार, अहिले पनि समितिको प्रतिवेदन र निजामति विधेयकमा भइरहेको छेडखानी सोही पुरानो प्रवृत्तिको पुनरावृत्ति हो ।
‘हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ, संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो,’ दाहालले भने, ‘अहिले जे भइरहेको देखिन्छ, प्रतिवेदनहरुमाथि भएका छेडखानीहरू त्यसैको उदाहरण हुन् । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेचेको जस्तो स्थिति बनिरहेको छ ।’
अध्यक्ष दाहालले आफू सरकारमा हुँदा समाजवादको पक्षमा दृढ रहेको दाबी गर्दै, नेपालको पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको बताए । ‘नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ र यसका लागि कम्युनिष्टहरूले प्रमुख भूमिका निभाउनुपर्ने छ ।’
+ There are no comments
Add yours