उपल्लो डोल्पामा चामल अभाव देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका उपल्लो डोल्पास्थित तीन वटा विक्री केन्द्रमा चामल नहुँदा उपभोक्तालाई समस्या परेको छ । कम्पनीका धो, सालदाङ र तिन्जेमा रहेका बिक्री केन्द्रमा चामल अभाव भएको हो ।
आर्थिक बर्ष २०८१र०८२ मा वितरण गरिएको चामल सकिएको छ । नयाँ चामलका लागि ठेक्का लागेका कारण खाद्यान्न अभाव भएको लिमिटेडको डोल्पा शाखाका प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।उक्त क्षेत्रमा कम्पनीले प्रति २५ किलो चामलको बोरालाई दुई हजार २१९ मा स्थानीय उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । सोही चामल बाहिरबाट खरिद गर्दा चार हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।
‘कम्पनीबाट चामल लिँदा आधाभन्दा कम मूल्य पर्न जान्छ, त्यही प्रकृतिको चामल बाहिरका दोकानमा किन्दा डबल पैसा तिर्नुपर्ने हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘कम्पनीको विक्री केन्द्र हुँदाहुँदै यति महँगो बाहिर चामल किन्न त जनतालाई समस्या हुने भयो, कम्पनीले चाँडो खाद्यान्न ढुवानी गर्नुपर्छ ।’
दसैँ र तिहारको मुखमा खाद्यान्न अभाव हुँदा स्थानीय उपभोक्ताले समस्या खेप्नुपरेको उनले बताए । मंसिरभित्र चामल ढुवानी नभए उपल्लो डोल्पामा ठूलो खाद्यान्न सङ्कट निम्तिने अध्यक्ष गुरुङले बताए । हिँउदयाममा हिमपात हुने भएकाले असोजको अन्तिम सातासम्ममा चामल ढुवानी हुनुपर्नेमा उनी बताउँछन् ।
उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन् । चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रदेश कार्यालय प्रमुख केशवराज बुढाथोकीले भने सबै खाद्य डिपो र विक्री केन्द्रहरुमा प्रयाप्त खाद्यान्न रहेको बताए । (रासस)

Leave a Reply