
जुम्लाका रमानन्द आचार्यले लेखेको शब्दकोष ‘खसिया आखर’ प्रकाशन भएको छ । चन्दननाथ नगरपालिका–१ का ७९ वर्षीय आचार्यले १७ वर्षको अध्ययन, अनुसन्धान र लेखनपछि उक्त शब्कोष प्रकाशन गरेका हुन् । यो कृति कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरिदिएको हो ।
आचार्यले शब्दकोषको तयारी गर्दा कसैले पत्याएका थिएनन् । कतिपयले यो कृति प्रकाशन नहुने बताउँथे । केहीले आचार्यको कामको तारिफ पनि गरे । आलोचना र प्रसंसाकै बीचबाट उनले खस शब्दकोष प्रकाशन गरेरै छाडे । जिल्ला समन्वय समितिको परिसरमा उनका लागि एउटा कोठा दिइएको थियो । खसिया आखर नामको बोर्ड झुण्ड्याएर उनी रातदिन शब्द लेखनमा लागिरहे । ‘नेपाली भाषाको जननी जुम्लाको खस भाषा हो, यसलाई एकीकृत गरेर बल्ल मेरो सपना पूरा भएको छ ।’ आचार्यले भने । १३ सय पृष्ठको यो शब्दकोषमा ४० हजार शब्द अटाएका छन् ।
शब्दकोषमा खस भाषाका उपज शब्दहरु मात्रै राखिएका छन् । पछिल्लो दिनमा आयतित आधुनिक शब्दहरु समेटिएका छैनन् । शब्दकोष प्रकाशन गर्ने दाता खोज्न उनलाई समय लागेको थियो । ‘संकलित पाण्डुलिपी दराजमै थन्काएर अस्ताउँछु कि भन्ने लागेको थियो, जे होस मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भयो, उनले भने, ‘खस भाषा र सभ्यता जीवित राख्ने प्रयास पूरा भएको छ, अब भावी पुस्ताले यसलाई दस्तावेजका रुपमा अध्ययन अनुसन्धान गर्नेछन् ।’
उनले धेरै निकाय, संघसंस्था, व्यक्ति सबैसँग शब्दकोष निर्माणको लागि पहल गरेका थिए । आर्थिक लाभ प्राप्त नहुने देखेपछि सबै पन्छिए । तर अहिले उनको शब्दकोष पढ्न पाउने गरेर प्रकाशन भएको छ । उनको शब्दकोषको अभिभावक नै कर्णाली प्रदेश सरकार बनेको छ । अहिले सामाजिक विकास मन्त्रालयले एक हजार प्रति शब्दकोष प्रकाशन गर्न पुग्ने रकम दिएको छ । स्थानीय तहले पनि साथ दिने वचन दिए । शब्दकोषको एक प्रति छाप्न मात्रै एक हजार पाँच सय रुपैयाँ भन्दा धेरै लागेको छ ।
खस शब्दकोष लोकार्पण गर्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यसले ठूलो योगदान दिने बताए । ‘खस भाषा र संस्कृतिको संरक्षणको लागि सरकार प्रतिबद्ध छ,’ मन्त्री भण्डारीले भने, ‘केही स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठन भइरहेको छ, जसमा यो शब्दकोषले सुनमा सुगन्ध थप्नेछ ।’
भाषाशास्त्री तथा प्राध्यापक डा. माधवप्रसाद शास्त्रीले शब्दकोष प्रकाशनले कर्णालीको भूगोल र शीर उच्च राख्ने कार्य गरेको प्रतिक्रिया दिए । ‘कर्णालीको छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ,’ उनले थपे, ‘शब्दकोष लेख्ने कार्य सजिलो थिएन, यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा लेखक आचार्यप्रति खुसी छौं ।’
‘खसिया आखर’ शब्दकोषले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न सहज बनेको छ । २०६५ साल बैशाख ११ गते बसेको जिल्ला परिषद्ले खस भाषाको संरक्षणको लागि शब्दकोष प्रकाशन गर्ने निर्णय गरेको थियो । आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मा दिइएको थियो । खस भाषामा दख्खल राख्ने आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरे । उनी कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्तीसम्म पुगे । हरेक जिल्ला र क्षेत्रमा बोलिने भाषा शैली नै फरक भएकोले शब्दको अर्थ लगाउन निकै कठिन थियो । पछिल्लो समय उनी कम्प्युटर टाइपिङको काममा खटिए । आफू कम्प्युटर चलाउन नसक्ने भएकोले टाइपिस्ट राखेर शब्दहरु टाइप गर्न लगाए । कतिपय खस शब्दहरु कम्प्युटरको माइक्रो सफ्टवर्डमा पनि भेटिएनन् ।
तत्कालीन जिल्ला विकास समितिले पहिलो वर्ष २ लाख रुपैयाँ छुट्याएर शब्दकोष लेखनको सुरुवात गरेको थियो । खस भाषा बोलिने क्षेत्रहरुमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष नै निर्माण गरिएको आचार्यको भनाइ छ । शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरु राखिएको छ । दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरु, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ ।
शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो । तर पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो । आचार्य एक्लैले शब्दहरु संकलन तथा लेखनको काम गर्न थाले । सदस्यहरु गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं थिए । उनीहरु सुरुवाती केही समय मात्रै खटिए । पछि उनीहरुले खटिन छोडेपछि आचार्य दैनिक आधा घण्टा हिँडेर सदरमुकाम खलंगा बजार पुग्थे । अहिले जस्तो सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर जानुको विकल्प थिएन । संकलन गरेका शब्दहरु बिना सेवा सुविधा एक्लै अथ्र्याइरहेका हुन्थे । शब्द संकलन गर्न गाउँगाउँ जानुपर्ने त्यसैमा बजेट अभावको समस्या थियो ।
तर आचार्य एक्लैले शब्द खोज्दै वर्णानुक्रमदेखि अथ्र्याउने लगायतका काम गरे । ‘यो शब्दकोषले १८४६ साल पूर्वको खस राज्यको पहिचान लोप हुन नदिने र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व जीवन्त राख्ने अपेक्षा राखिएको छ । अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ,’ आचार्यले भने, ‘युवा पुस्तालाई खसभाषाको अध्ययन अनुसन्धानको लागि यो कोसेढुंगा साबित हुनेछ ।’

Leave a Reply