२०८३ जेठ २० , बुधबार

तीन जिल्लामा फैलियो दादुरा



सुर्खेत ।  कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र कालीकोट जिल्लामा दादुराको संक्रमण देखिएपछि स्वास्थ्य निकायहरू सतर्क बनेका छन् । तीनवटै जिल्लामा हालसम्म ११ जनामा दादुरा पुष्टि भएको छ भने संक्रमण फैलिन नदिन खोप अभियान, उपचार र निगरानीका कार्यक्रम तीव्र पारिएका छन् । स्वास्थ्य कार्यालयहरूका अनुसार सुर्खेतमा तीन जना, जाजरकोटमा चार जना र कालीकोटमा चार जनामा दादुरा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश बालबालिका रहेका छन् भने उनीहरूलाई घरमै आइसोलेसनमा राखेर उपचार तथा निगरानी गरिएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका नाै मा ज्वरो र दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिकाको नमुना परीक्षणका लागि पठाइएको थियो । परीक्षण गरिएका पाँच नमुनामध्ये तीन जनामा दादुरा पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । संक्रमितमध्ये १० महिनाका, दुई वर्षका र १५ वर्षका बालक रहेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार रोजगारीका लागि भारत जाने परिवारका बालबालिका नियमित खोपबाट छुट्ने गरेका कारण संक्रमणको जोखिम बढेको देखिएको छ । संक्रमण नियन्त्रणका लागि गुर्भाकोट क्षेत्रमा १५ वर्षमुनिका करिब एक हजार तिन सय बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

विगतमा खोप लगाउन छुटेका बालबालिकालाई पनि यस अभियान मार्फत समेटिने जनाइएको छ । जाजरकोटको भेरी नगरपालिका–११ स्थित कट्टीगाउँ क्षेत्रमा पनि दादुराको संक्रमण देखिएपछि स्थानीय विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएका छन् । शिवशङ्कर माध्यमिक विद्यालयका विद्यार्थीमा संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन रोकिएको हो । राष्ट्रिय प्रयोगशालाबाट आएको परीक्षण प्रतिवेदनअनुसार उक्त क्षेत्रमा चार जनामा दादुरा पुष्टि भएको छ । भेरी नगरपालिकाले संक्रमण प्रभावित क्षेत्रमा रहेका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार दिइएको बिदा स्थानीय बिदाबाट समायोजन गरिने बताइएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–११ मा पनि चार जनामा दादुरा पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोट र कालीकोटमा स्वास्थ्यकर्मी परिचालन गरी थप संक्रमण रोक्न आवश्यक कदम चालिएको छ। प्रभावित क्षेत्रमा खोप, स्वास्थ्य सामग्री र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका परिवारका सदस्य वा विगतमा खोप नलगाएका बालबालिका हुन् । खुला सीमा र नियमित खोप अभियानबाट छुट्ने समस्या संक्रमण फैलिनुको प्रमुख कारणका रूपमा औंल्याइएको छ । संक्रमण नियन्त्रणका लागि जाजरकोटमा करिब ४ हजार र कालीकोटमा पाँच सय बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्यकर्मीहरूले अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित खोप दिलाउन आग्रह गरेका छन् ।

सरकारले सन् २०२६ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको भए पनि विभिन्न जिल्लामा पुनः संक्रमण देखिन थालेपछि लक्ष्य हासिल गर्न चुनौती थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।यसैबीच, जिल्ला खोप समन्वय समितिका संयोजक तथा सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले संक्रमण देखिएका क्षेत्रमा तत्काल पर्याप्त खोप र स्वास्थ्यकर्मी परिचालन गरी रोग नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनका अनुसार समयमै खोप अभियान प्रभावकारी बनाउन सके दादुराको थप फैलावट रोक्न सकिनेछ ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार