२०८३ जेठ २१ , बिहीबार

महिलाको अग्रसरतामा नौमती बाजा संरक्षण अभियान



सल्यान । जिल्लाकाे लान्ती बजारस्थित सामुदायिक भवनमा हरेक बिहान नौमती बाजाका मधुर धुनहरू गुन्जिन थालेका छन् । परम्परागत रूपमा पुरुष र निश्चित समुदायमा सीमित मानिएको नौमती बाजा अब स्थानीय महिलाहरूले सिक्न र संरक्षण गर्न थालेका छन् । जेठ १६ गतेदेखि छत्रेश्वरी गाउँपालिका छ का १० जना महिलाले नौमती बाजा बजाउने तालिममा सहभागिता जनाउँदै आएका छन् । तालिममा सहभागी महिलाहरूले सहनाई, कर्नार, नरसिङ्गा, दमाहा, ढोलक, ट्याम्को र झ्यालीजस्ता बाजा बजाउने अभ्यास गरिरहेका छन् । उनीहरू उत्साहपूर्वक मौलिक संस्कृति जोगाउने उद्देश्यसहित नयाँ सीप हासिल गर्न जुटेका छन् ।

तालिममा सहभागी नवीना थापा विष्टले सुरुआती दिनमा बाजा बजाउन निकै कठिन लागेको भए पनि अहिले आत्मविश्वास बढ्दै गएको बताइन् ।  उनका अनुसार झ्याउरे र ख्याली तालमा बाजा बजाउन सिक्दै जाँदा आफूले नयाँ अनुभव प्राप्त गरेको महसुस भएको छ । विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा महत्वपूर्ण मानिने नौमती बाजा पछिल्ला वर्षहरूमा क्रमशः लोप हुने अवस्थामा पुगेको छ । आधुनिक प्रविधि र नयाँ सांगीतिक प्रवृत्तिको प्रभावका कारण परम्परागत बाजाप्रति आकर्षण घट्दै गइरहेका बेला वडाले महिलामार्फत यसको संरक्षणको पहल थालेको हो ।

सहभागी चन्द्रकला विकले पहिलो दिन बाजा समाउँदा डर लागेको स्मरण गर्दै अहिले भने सिकाइको प्रक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको बताइन् । प्रशिक्षक पवित्रा रम्तेलका अनुसार प्रारम्भमा संकोच देखिएका महिलाहरू अहिले आत्मविश्वासका साथ बाजा बजाउन सक्षम हुँदै गएका छन् । वडाध्यक्ष टीकाराम बुढाले तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूलाई समेटेर स्थानीय नौमती बाजा समूह गठन गर्ने योजना रहेको जानकारी दिनुभयो। उक्त समूहले आगामी दिनमा गाउँपालिकाभित्र हुने सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमा प्रस्तुति दिने अपेक्षा गरिएको छ । यो अभियानले नौमती बाजाको संरक्षण मात्र होइन, महिलाको नेतृत्व र सहभागितालाई पनि थप सशक्त बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार