२०८३ जेठ २१ , बिहीबार

बिद्यालय भवन छैन, छानामा पढ्छन् बिद्यार्थि



जाजरकोट ।  जिल्लाको छेडागाड नगरपालिका सात स्थित भानुभक्त आधारभूत विद्यालयका विद्यार्थी अझै पनि त्रिपालमुनि बसेर अध्ययन गर्न बाध्य छन् । २०८० कात्तिक १७ गते गएको भूकम्पले विद्यालयका भवनमा क्षति पुर्‍याएपछि विद्यार्थी अस्थायी रूपमा त्रिपालमुनि कक्षा सञ्चालन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक टेकबहादुर खत्रीका अनुसार भूकम्पअघि विद्यालयमा दुई वटा भवन रहेका थिए । भूकम्पले दुवै भवनमा क्षति पुर्‍याएपछि नियमित पठनपाठनका लागि सुरक्षित संरचनाको अभाव भएको छ ।

हाल विद्यार्थीहरू त्रिपालमुनि भुइँमा कार्पेट बिछ्याएर अध्ययन गरिरहेका छन् । “हिउँदमा धुलो र बर्खामा हिलोको समस्या झेल्दै पढाउनुपरेको छ,” प्रधानाध्यापक खत्रीले भन्नुभयो। विद्यालयमा हाल ९० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्थायी भवन निर्माणका लागि चारकोठे भवन निर्माण कार्य भने जारी रहेको छ । निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र भवन सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास विद्यालय प्रशासनले गरेको छ ।

छेडागाड नगरपालिका सातका वडाध्यक्ष वीरबहादुर रोकायाले वडासँग विद्यालय भवन निर्माणका लागि पर्याप्त बजेट नभएका कारण भूकम्पपछि पनि पुनर्निर्माण कार्य अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए । भूकम्प प्रभावित जाजरकोटमा विद्यालय पुनर्निर्माणको काम सुस्त गतिमा भइरहेका कारण धेरै विद्यार्थी अझै पनि अस्थायी संरचनामै अध्ययन गर्न बाध्य रहेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार