२०८३ जेठ २२ , शुक्रबार

नागरिकलाई दैनिक सेवा तथ्याङ्क उपलब्ध गराउँदै प्रशासन



रुकुमपश्चिम ।  जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवाको दैनिक विवरण नियमित रूपमा सार्वजनिक गर्न थालेको छ । सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभ्यासले नागरिकलाई कार्यालयको कार्यसम्पादनबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउन थालेको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय र मातहत रहेको इलाका प्रशासन कार्यालय चौरजहारीबाट दैनिक रूपमा सम्पादन गरिएका कार्य तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज र सूचना पाटीमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार नागरिकले प्राप्त गर्ने सेवा र कार्यालयको दैनिक कार्यसम्पादनबारे सहज रूपमा जानकारी पाउन सकून् भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।  प्रमुख जिल्ला अधिकारी निसानराज गौतमले जेठ महिनाको पहिलो सातादेखि सेवा प्रवाहको दैनिक विवरण सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिक निकायले प्रदान गर्ने सेवाबारे नागरिकलाई समयमै जानकारी उपलब्ध गराउनु सुशासनको महत्वपूर्ण आधार भएकाले यो कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

“कार्यालयले दिनभरि कति सेवा प्रदान गर्‍यो, कुन–कुन क्षेत्रमा काम सम्पन्न भए र सेवाग्राहीले कति लाभ लिए भन्ने जानकारी सार्वजनिक गर्दा नागरिकको विश्वास बढ्नुका साथै कार्यालयको उत्तरदायित्वसमेत मजबुत हुन्छ,” प्रमुख जिल्ला अधिकारी गौतमले भने ।  उनले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीले सार्वजनिक निकायलाई सूचना प्रवाहमा पारदर्शी बन्नुपर्ने व्यवस्था गरेकाले त्यसको प्रभावकारी कार्यान्वयनका रूपमा यो अभ्यासलाई निरन्तरता दिइने बताए ।

दैनिक सेवा विवरण सार्वजनिक गर्दा एकातिर कार्यालयको कार्यसम्पादन अभिलेखीकरण हुने र अर्कोतर्फ आगामी दिनका लागि कार्ययोजना तथा जनशक्ति व्यवस्थापनमा समेत सहजता हुने उनकाे  भनाइ छ । कार्यालयले सार्वजनिक गर्ने विवरणमा नागरिकता वितरण, नागरिकताको प्रतिलिपि, विभिन्न प्रकारका सिफारिस, राहदानी सम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण, प्रशासनिक कामकाज, मुद्दा व्यवस्थापन, सङ्घसंस्था दर्ता तथा नवीकरणलगायतका सेवाको दैनिक तथ्याङ्क समावेश हुने गरेको छ । यसबाट नागरिकले आफूलाई आवश्यक सेवा कुन गतिमा प्रवाह भइरहेको छ भन्ने जानकारी समेत पाउन सक्ने भएका छन् ।

इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले सेवा प्रवाहसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्ने कार्यले सेवाग्राहीलाई कार्यालयको कामकारबाहीबारे जानकारी लिन सहज भएको बताए । उनका अनुसार नागरिकले कार्यालयमा पुग्नुअघि नै आवश्यक जानकारी प्राप्त गर्न सक्ने भएकाले समय र खर्च दुवैको बचत हुन थालेको छ । “सूचना सार्वजनिक हुँदा कार्यालयको कार्यक्षमताप्रति नागरिकको चासो बढ्छ । यसले कर्मचारीलाई थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रेरित गर्छ,” उनले भने आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउँदै डिजिटल माध्यमबाट सेवा प्रवाह र सूचना सम्प्रेषणलाई विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए ।

स्थानीय सरोकारवाला तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि प्रशासन कार्यालयको यो अभ्यासको प्रशंसा गरेका छन् । गैरसरकारी संस्था महासङ्घ रुकुमपश्चिमका जिल्ला अध्यक्ष भीमराज ओलीले दैनिक सेवा विवरण सार्वजनिक गर्ने कार्यले कार्यालयको कार्यसम्पादनबारे नागरिकलाई वास्तविक जानकारी प्राप्त गर्न सहज भएको बताए । उनका अनुसार सार्वजनिक निकायले गरेका कामको विवरण खुला रूपमा सार्वजनिक हुँदा पारदर्शिता कायम हुनुका साथै सेवाप्रति नागरिकको विश्वास बढ्ने वातावरण सिर्जना हुन्छ ।

“सार्वजनिक निकायको उत्तरदायित्व र सुशासन प्रवर्धनका दृष्टिले यो अभ्यास निकै महत्वपूर्ण छ । यसले सेवा प्रवाहमा सुधार ल्याउन र नागरिकको निगरानीलाई समेत प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ,” अध्यक्ष ओलीले भने ।  स्थानीयवासीहरूका अनुसार पछिल्लो समय सरकारी कार्यालयप्रति नागरिकको अपेक्षा बढ्दै गएको अवस्थामा यस्ता अभ्यासले कार्यालय र सेवाग्राहीबीचको दूरी घटाउन मद्दत पुर्‍याएको छ । सूचना प्रविधिको प्रयोगमार्फत सेवा विवरण सार्वजनिक गर्ने कार्यले सरकारी सेवामा खुलापन र पारदर्शिता बढाउने विश्वास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले सुरु गरेको यो अभ्यासलाई सुशासन र पारदर्शिताको दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ । सरोकारवालाहरूले यस्ता अभ्यासलाई अन्य सरकारी कार्यालयहरूले पनि अनुसरण गर्नुपर्ने सुझाव दिएका छन् । नियमित रूपमा सेवा प्रवाहको विवरण सार्वजनिक गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा सार्वजनिक प्रशासनप्रति नागरिकको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार