२०८३ जेठ २२ , शुक्रबार

अझैँ राेकिएन डढेलाे, हजाराैँ हेक्टर वनक्षेत्र नष्ट



दैलेख ।  वनडढेलो नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि दैलेखमा वन आगलागीको समस्या अझै नियन्त्रणमा आउन सकेको छैन । चालु वर्षमा जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा पटक–पटक डढेलो लाग्दा ठूलो वनक्षेत्र प्रभावित भएको छ । डिभिजन वन कार्यालय दैलेखका अनुसार जिल्लाका १४ वटा सामुदायिक वन र ४० वटा राष्ट्रिय वनमा आगलागी हुँदा हालसम्म एक हजार एक सय ७० हेक्टर वनक्षेत्र डढेलोबाट नष्ट भएको छ ।

वनमा आगलागीका घटनाले वनस्पति, वन्यजन्तु तथा जैविक विविधतामा समेत असर पुर्‍याएको कार्यालयले जनाएको छ । वन अधिकृत आशिका पौड्यालले डढेलो न्यूनीकरणका लागि जिल्लाका ११ वटै स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समितिलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइन् । यद्यपि जनचेतना अभिवृद्धिका प्रयासका बाबजुद वनमा आगलागी हुने क्रम रोक्न चुनौतीपूर्ण बनेको उनकाे भनाइ छ । उनका  अनुसार ११ वटा सामुदायिक वनमा लागेको आगलागी भने समयमै नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

डिभिजन वन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवाला निकायलाई डढेलो रोकथाम र नियन्त्रणसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमर शाहले जिल्लामा हुने अधिकांश वन आगलागी मानवीय लापरबाहीका कारण हुने गरेको बताए । उनका अनुसार घाँसपात सङ्कलन, खेतबारी सफा गर्ने क्रममा लगाइने आगो नियन्त्रणबाहिर जाँदा वन क्षेत्रमा फैलिने गरेको छ । लामो समयसम्म वर्षा नहुनु, अत्यधिक सुक्खा मौसम र तापक्रम वृद्धि जस्ता प्राकृतिक कारणले पनि डढेलोको जोखिम बढाएको छ ।

साथै, सडक तथा वन क्षेत्र हुँदै यात्रा गर्ने व्यक्तिले चुरोट सेवनपछि ननिभाई फाल्ने गरेका कारण पनि आगलागीका घटना बढ्ने गरेको वन कार्यालयको भनाइ छ । स्थानीयवासीहरूले वनडढेलो न्यूनीकरणका लागि सचेतना कार्यक्रम मात्र पर्याप्त नभएको भन्दै प्रभावकारी निगरानी, कडा नियन्त्रण र कानुनी कार्यान्वयनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूले वन संरक्षणमा समुदाय, स्थानीय तह र सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार