हुम्ला । विश्व वातावरण दिवसको अवसरमा हुम्लामा वृक्षारोपण कार्यक्रमसहित विभिन्न जनचेतनामूलक गतिविधि आयोजना गरी दिवस मनाइएको छ । “समृद्ध भविष्यको आधारः जलवायु तथा प्रकृति मैत्री” भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकास्थित मानसरोवर माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिइएको हो । डिभिजन वन कार्यालय हुम्लाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्यले सल्ला, धुपी, ओखर, चुलीलगायत पाँच प्रकारका बिरुवा रोपिएको छ । पछिल्लो समय जलवायु परिवर्तनका असर विश्वव्यापी रूपमा बढ्दै गएको अवस्थामा वातावरण संरक्षण, वन सम्पदाको संवर्द्धन तथा हरित वातावरण निर्माणका लागि वृक्षारोपणलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाइले विश्व वातावरण दिवस केवल औपचारिक रूपमा मनाउने दिन नभई वातावरण संरक्षणप्रति सबैलाई जिम्मेवार बनाउने अवसर भएको बताए । उनका अनुसार वन क्षेत्रको संरक्षण, हरियाली विस्तार र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न वृक्षारोपण महत्वपूर्ण उपाय हो । “वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न अहिलेबाटै संरक्षणका गतिविधि बढाउन आवश्यक छ,” उनले भने ।
विद्यालय परिसरमा रोपिएका बिरुवाले भविष्यमा हरियाली विस्तार गर्नुका साथै विद्यार्थीलाई वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रवक्ता सरिता रावत, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले वातावरण संरक्षणलाई सरकारी निकायको मात्र जिम्मेवारीका रूपमा नहेरी समुदाय, शैक्षिक संस्था तथा नागरिकस्तरबाट समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले जलवायु परिवर्तनका असर कम गर्न वन संरक्षण, वृक्षारोपण तथा प्राकृतिक स्रोतको दिगो उपयोग अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले वृक्षारोपणसँगै बिरुवाको संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए । उनका अनुसार रोपिएका बिरुवाको नियमित हेरचाह र संरक्षण सुनिश्चित गर्न विद्यालयका एक छात्रलाई एक महिनासम्म जिम्मेवारी दिइएको छ । उक्त कार्यका लागि दुई हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
“बिरुवा रोपेर मात्र हुँदैन, त्यसको संरक्षण भएमा मात्र वृक्षारोपणको उद्देश्य पूरा हुन्छ,” प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । उनले विद्यालय परिवार, विद्यार्थी तथा स्थानीय समुदायको सहकार्यमा बिरुवाको संरक्षण गरिने जानकारी दिए । कार्यक्रमकै अवसरमा डिभिजन वन कार्यालयले विद्यालयको छात्रावासमा बसोबास गरी अध्ययनरत ५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री पनि वितरण गरेको छ । शैक्षिक वातावरण सुधार तथा विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्ने उद्देश्यले कापी, कलम र अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।
विद्यालय प्रशासनले वन कार्यालयको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै विद्यालय परिसरमा गरिएको वृक्षारोपणले वातावरणीय सौन्दर्य वृद्धि गर्नुका साथै विद्यार्थीमा प्रकृति संरक्षणप्रतिको चेतना विकास गर्न मद्दत पुग्ने जनाएको छ । हुम्लाजस्तो दुर्गम हिमाली जिल्लामा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण सन्देश दिने सरोकारवालाहरूको भनाइ छ ।
विश्व वातावरण दिवसको अवसरमा गरिएको वृक्षारोपण र विद्यार्थी सहयोग कार्यक्रमले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोडेको सहभागीहरूले बताएका छन् । स्थानीयवासीका अनुसार जलवायु परिवर्तनका असर हिमाली क्षेत्रमा बढी देखिन थालेका बेला यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









