सुर्खेत । नेपाल विद्यार्थी संघ (नेविसंघ) कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवाको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरेको छ । संघले सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षा, रोजगारी, सूचना प्रविधि, नवप्रवर्तन, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षाका विषयलाई प्राथमिकतामा राख्न माग गरेको हो ।
ध्यानाकर्षण पत्रमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ । नेविसंघ कर्णालीका अध्यक्ष रोशन बस्नेतले उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि सरकारी तथा सार्वजनिक निकायमा पारिश्रमिकसहितको प्रशिक्षार्थी (इन्टर्नसिप) कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । त्यस्तै, सूचना प्रविधि, स्टार्टअप, कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सजस्ता क्षेत्रमा युवाको सहभागिता बढाउन आवश्यक बजेट सुनिश्चित गर्नुपर्नेमा संघले जोड दिएको छ ।
विद्यालयस्तरको दिवा खाजा कार्यक्रमको विस्तार तथा गुणस्तर सुधार गर्न र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ । नेविसंघले विद्यार्थी तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटी प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ। संघले शिक्षा र रोजगारीमा लगानी बढाएर युवाको भविष्य सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।









