सल्यान । दार्मा गाउँपालिका चार रातामाटास्थित श्री नव सर्वसाधारण माध्यमिक विद्यालयमा अध्ययनरत ७५ जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ । स्वर्गीय योमन चन्दको स्मृतिमा स्थापित योमन चन्द फाउन्डेसनको आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको हो । कार्यक्रममा दार्मा गाउँपालिका चारका वडाध्यक्ष चन्द्रबहादुर रावत प्रमुख अतिथि तथा फाउन्डेसनका सञ्चालक शेरबहादुर चन्द विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रावतले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई लक्षित यस्ता सहयोगमूलक कार्यक्रमले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने बताए । उनले फाउन्डेसनको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास तथा विपन्न विद्यार्थीको हितका लागि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
विशेष अतिथि चन्दले फाउन्डेसनले शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर काम गर्ने जानकारी दिए । उनले सानो सहयोगले पनि विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण प्रेरणा दिन सक्ने बताए । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालय परिवारले फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई थप उत्साह मिल्ने विश्वास व्यक्त गरेको छ।
दार्मा गाउँपालिक चार निवासी २६ वर्षीय योमन चन्दको गत कार्तिक २५ गते असामयिक निधन भएको थियो । उनकाे स्मृति, मूल्य र शिक्षा प्रतिको लगावलाई निरन्तरता दिने उद्देश्यले परिवार तथा आफन्तजनको पहलमा स्थापना गरिएको फाउन्डेसनमार्फत आर्थिक रूपमा विपन्न तर अध्ययनप्रति इच्छाशक्ति र क्षमता भएका विद्यार्थीलाई आगामी दिनमा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने जनाइएको छ ।
फाउन्डेसनका तर्फबाट प्रतिक्रिया दिँदै स्वर्गीय योमन चन्दका दाजु कुशल चन्दले भाइको शिक्षा प्रतिको सपना र प्रतिबद्धतालाई समुदायको हितमा रूपान्तरण गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको बताए । उनले शिक्षामार्फत योमन चन्दको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने लक्ष्यका साथ आफूहरू अघि बढिरहेको जानकारी दिए ।








