जुम्ला । जिल्लामा कृषि उत्पादनको बजारीकरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाको सहभागितामा नयाँ कृषि बजार व्यवस्थापन समिति गठन गरिएको छ । कृषिजन्य वस्तुको मूल्य निर्धारणमा एकरूपता कायम गर्ने, बजारमा देखिने असन्तुलन नियन्त्रण गर्ने तथा किसान र उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा व्यापारी समूहबाट देउऋषि चौलागाईं, प्रमिला शाही र लक्ष्मीचन्द विष्ट सदस्य रहेका छन् । सहकारी तथा कृषक समूहको प्रतिनिधित्व गर्दै भैर धराला, नरबहादुर रावत र झल्का ऐडीलाई सदस्य चयन गरिएको छ । त्यसैगरी उद्योग वाणिज्य संघ जुम्लाका कोषाध्यक्ष मन्न थापा, चन्दननाथ नगरपालिकाका कृषि शाखा प्रमुख सरद पोखरेल, तिला गाउँपालिकाका कृषि विकास शाखा प्रमुख राजेश विक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सुभाष तिमिल्सिना तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मन्दिरनाथ योगी पनि समितिमा सदस्यका रूपमा रहेका छन् ।
समितिको सदस्य–सचिवको जिम्मेवारी दीपकसिंह धामीलाई दिइएको छ । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना अन्तर्गत आयोजित सरोकारवालाबीचको छलफल कार्यक्रमपछि समिति गठन गरिएको हो। कार्यक्रममा सहभागीहरूले जुम्लाको कृषि बजार अझै व्यवस्थित हुन नसकेको, मूल्य निर्धारणमा एकरूपता अभाव रहेको तथा त्यसको असर किसान र उपभोक्ता दुवैमा परेको धारणा व्यक्त गरेका थिए । लि–बर्ड जुम्लाका प्रतिनिधि बुद्ध विकले बजार प्रणाली सुधार गर्न सके स्थानीय कृषि उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा सकारात्मक प्रभाव पर्ने बताए ।
कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले कृषि उपजको मूल्यमा एकरूपता कायम गर्नु अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै नवगठित समितिले त्यसतर्फ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जुम्लामा उत्पादन हुने आलु, सिमी, स्याउ लगायतका कृषि उपजको मूल्य पसलअनुसार फरक–फरक हुने समस्या लामो समयदेखि रहँदै आएको छ । यसले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले आवश्यकताभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ ।








