२०८३ जेठ २४ , आइतबार

हिल्सा नाका खुलेसँगै पर्यटक वृद्धि



हुम्ला ।  हुम्ला हुँदै कैलाश–मानसरोवर दर्शन गर्न जाने भारतीय तथा अन्य विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । हिल्सा नाका सञ्चालनमा आएपछि धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीका अनुसार वैशाखको पहिलो सातादेखि हिल्सा नाका सञ्चालनमा आए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन थालेका हुन् । वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठको पहिलो सातादेखि पर्यटकको चहलपहल बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख ३० गतेदेखि जेठ २३ गतेसम्म नेपालगन्ज हुँदै हुम्ला पुगेका भारतीय तथा अन्य देशका दुई हजार सात सय ४७ पर्यटक कैलाश–मानसरोवर यात्रामा निस्किएका छन् । वैशाख महिनामा एक सय १४ जना पर्यटक भित्रिएका थिए भने जेठ महिनामा मात्रै दुई हजार छ सय ३२ पर्यटक हुम्ला पुगेका छन् । तीमध्ये एक हजार दुई सय ९२ महिला र एक हजार तिन सय ४० पुरुष रहेका छन् । हुम्लाको बाटो छोटो र सहज भएकाले पछिल्ला वर्षहरूमा भारतीय पर्यटकले यो मार्ग रोज्न थालेका छन् ।

चीनले हिल्सा नाका भारतीय पर्यटकका लागि खुला गरेपछि यात्रुको सङ्ख्या झन् बढेको विमानस्थल स्रोतले जनाएको छ । कोरोना महामारीपछि कैलाश–मानसरोवर यात्रामा देखिएको यो सबैभन्दा ठूलो पर्यटक आगमन मानिएको छ । पर्यटकको चाप बढेसँगै नेपालगन्ज–सिमकोट हवाई सेवा पनि व्यस्त बनेको छ । मौसम अनुकूल हुँदा दैनिक पाँचदेखि १० वटासम्म उडान सञ्चालन भइरहेको छ । सिमकोटबाट हिल्सासम्म विभिन्न हेलिकोप्टर कम्पनीले समेत सेवा प्रदान गरिरहेका छन् । धार्मिक पर्यटकको बढ्दो आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

सिमकोट र हिल्साका होटल भरिभराउ भएका छन् भने यातायात, होटल तथा अन्य सेवा क्षेत्रमा स्थानीयले रोजगारीका अवसर पाएका छन् । हुम्ला उद्योग वाणिज्य सङ्घका अनुसार पर्यटक आगमनले व्यवसायी मात्र नभई स्थानीय समुदायसमेत प्रत्यक्ष लाभान्वित भएका छन् । सिमकोट र नाम्खा गाउँपालिकाले विदेशी पर्यटकबाट शुल्क संकलन गर्दै आएका छन् । भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने व्यवस्था रहेको छ । नाका सञ्चालन नियमित रहेमा आगामी दिनमा कैलाश–मानसरोवर जाने पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार