रुकुम पश्चिम । सानीभेरी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिका भित्रका ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठकबाट भएको निर्णयअनुसार शैक्षिक सत्र २०८३ को प्रभावकारी सञ्चालन, व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ४७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको हो ।
शिक्षा शाखा प्रमुख भूपालसिं बिष्ट र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा विद्यालय व्यवस्थापन, शिक्षण सिकाइ सुधार, विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण, विद्यालय सुधार योजना निर्माण, शिक्षक कार्यसम्पादन मूल्याङ्कन, कक्षा अवलोकन, अभिभावकसँग नियमित अन्तरक्रिया, सामाजिक परीक्षण तथा वित्तीय सुशासनलगायतका ४७ वटा सूचक समावेश गरिएका छन् । त्यसैगरी विद्यालयले सिकाइ उपलब्धि सुधार, विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्ने, विद्यालय छाड्ने तथा कक्षा दोहोर्याउने दर घटाउने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाउने, विद्युतीय हाजिरी कार्यान्वयन गर्ने तथा हरित र बालमैत्री विद्यालय अवधारणालाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विद्यालय सुशासनलाई समेत विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । प्रधानाध्यापकहरूबीच विद्यालयमा भएका नवप्रवर्तन र असल अभ्यासको आदानप्रदान, शैक्षिक सुधारका चुनौती तथा समाधानका उपायबारे समेत छलफल गरिएको थियो । गाउँपालिकाले कार्यसम्पादन सम्झौताको नियमित अनुगमन तथा मूल्याङ्कन गरी प्राप्त नतिजाका आधारमा विद्यालयलाई प्रोत्साहन, पुरस्कार तथा विभिन्न सेवा–सुविधा उपलब्ध गराउने जनाएको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै कार्यसम्पादन सम्झौतामा उल्लेखित सबै सूचक प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।
उनले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, अनुशासित विद्यालय व्यवस्थापन तथा समुदायको सक्रिय सहभागितामार्फत सानीभेरीको शिक्षा क्षेत्रलाई नमूना बनाउने लक्ष्य रहेको उल्लेख गरे । गाउँपालिकाले गत वर्ष पनि विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरी विभिन्न शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्षको सम्झौताले विद्यालयको उत्तरदायित्व बढाउँदै शिक्षाको गुणस्तर सुधारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।








