रुकुमपश्चिम । रुकुमपश्चिममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र वन कार्यालयले संयुक्त सुरक्षा गस्ती सञ्चालन गर्ने भएका छन् । डिभिजन वन कार्यालयमा शनिबार सम्पन्न जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरी संयुक्त गस्ती परिचालन तथा सूचना आदानप्रदान गर्ने निर्णय गरेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले मानव–वन्यजन्तु द्वन्द्वका कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्नुका साथै प्रतिशोधस्वरूप वन्यजन्तु मार्ने, पासो थाप्ने, विद्युतीय धराप तथा विष प्रयोग गर्ने गतिविधि नियन्त्रण गर्न संयुक्त पहल आवश्यक रहेको बताए । उनका अनुसार सुरक्षा निकाय र वन कार्यालयबीचको सहकार्यले वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बैठकले वन्यजन्तु चोरीसिकारी तथा तिनका अंगको अवैध व्यापार नियन्त्रणलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लासँग समेत सहकार्य गर्ने निर्णय गरेको छ । यसका लागि रुकुमपश्चिम, जाजरकोट, डोल्पा, रुकुमपूर्व र सल्यान जिल्लाबीच समन्वयात्मक बैठक आयोजना गरी साझा रणनीति तयार गरिने जनाइएको छ । त्यसैगरी वन्यजन्तुबाट प्रभावित नागरिकलाई राहत वितरण प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउन डिभिजन वन कार्यालयमार्फत नै राहत उपलब्ध गराउने व्यवस्था मिलाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
डिभिजन वन कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि यसअघि पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय सरोकारवालासँगको सहकार्यमा अभिमुखीकरण, छलफल र जनचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।








