२०८३ जेठ २५ , सोमबार

सल्यानको दार्मा गाउँपालिका पूर्णखोप पालिका घोषित



सल्यान  ।  सल्यानको दार्मा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा गरेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्य सुनिश्चित गर्ने महत्वपूर्ण अभियान भएको बताए ।

उनले खोप कार्यक्रमको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे ।  कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको बताए  । उनले भविष्यमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै खोपबाट वञ्चित हुने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समिति सल्यानका संयोजक ताराप्रसाद रिजाल तथा सामाजिक विकास संयोजक पुष्पाञ्जली मगरले खोप कार्यक्रमलाई दिगो बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे । गाउँपालिका अन्तर्गत रहेका तीन स्वास्थ्य चौकी, चार आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाँच प्रसूति केन्द्र र एक सामुदायिक स्वास्थ्य इकाइमार्फत सञ्चालनमा रहेका १५ खोप केन्द्रबाट शून्यदेखि १५ महिनासम्मका ३६५ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन् ।

पालिकाका नौ वटै वडामा यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सम्पन्न भइसकेको छ । खोप कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा अनुगमनमा ५४ जना स्वास्थ्यकर्मी र २७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख यज्ञबहादुर बस्नेतले गर्नुभएको थियो । गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै आगामी दिनमा पनि नियमित खोप सेवा प्रभावकारी र पहुँचयोग्य बनाउने जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार