हुम्ला । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमाको सुरक्षा, सीमास्तम्भहरूको अवस्था तथा सीमाक्षेत्रको समग्र अवस्थाबारे जानकारी लिन सशस्त्र प्रहरी बलले हुम्लामा नियमित सीमा अनुगमन कार्य सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साबाट खटिएको टोलीले चारदेखि ११ नम्बरसम्मका सीमास्तम्भहरूको स्थलगत निरीक्षण, रेखदेख तथा अभिलेखीकरण गरेको हो । सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर विकका अनुसार हिल्साबाट पश्चिम–दक्षिण क्षेत्रमा रहेका सीमास्तम्भहरूको अनुगमन गर्न टोलीलाई करिब एक साताको समय लागेको थियो । सीमाक्षेत्रको अवस्थाबारे वस्तुगत जानकारी संकलन गर्नुका साथै सीमास्तम्भहरूको भौतिक अवस्थाको मूल्याङ्कन गर्ने उद्देश्यले अनुगमन गरिएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर हुम्लाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले नेपाल–चीनसँग जोडिएको २६२.३ किलोमिटर लामो सीमाक्षेत्रभित्र रहेका १५ वटा सीमास्तम्भको नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । सीमास्तम्भहरूको अभिलेखीकरण, वर्तमान अवस्था र सीमासम्बन्धी अन्य प्राविधिक विवरण अद्यावधिक गर्ने उद्देश्यले यस्तो अनुगमन नियमित रूपमा हुँदै आएको उनकाे भनाइ छ । सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले चारदेखि ११ नम्बर सीमास्तम्भसम्मको निरीक्षण पूरा गरेको छ ।
अनुगमनका क्रममा सीमास्तम्भहरू सुरक्षित र सन्तोषजनक अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमास्तम्भहरूको अनुगमन कार्य भौगोलिक दृष्टिले निकै चुनौतीपूर्ण रहेको बताइएको छ । पाँच हजार दुई सय ५० मिटर उचाइसम्म रहेका सीमास्तम्भहरू पुग्न सुरक्षाकर्मीले दुर्गम हिमाली भूभागमा लामो पैदल यात्रा गर्नुपरेको थियो । कतिपय स्थानमा बिहानैदेखि हिँडेर साँझ मात्र चौकीमा फर्किनुपर्ने अवस्था रहेको सशस्त्र प्रहरीले जनाएको छ।यसअघि गत शनिबार सिमकोटबाट खटिएको अर्को टोलीले नाम्खा गाउँपालिका छ को लाप्चा क्षेत्रमा रहेको १२ नम्बर सीमास्तम्भको समेत निरीक्षण गरेको थियो । उक्त सीमास्तम्भको अवस्था पनि सन्तोषजनक रहेको निरीक्षण टोलीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार नेपाल–चीन सीमाक्षेत्रको सुरक्षा तथा सीमास्तम्भहरूको संरक्षणका लागि वर्षमा कम्तीमा दुई पटक नियमित अनुगमन गरिने गरिएको छ । आवश्यकता अनुसार थप निरीक्षणसमेत गरिने व्यवस्था रहेको जनाइएको छ । हाल हुम्ला खण्डमा रहेका सीमास्तम्भमध्ये तीन नम्बर सीमास्तम्भको अनुगमन बाँकी रहेको छ । मौसम अनुकूल भएपछि त्यसको पनि स्थलगत निरीक्षण गरिने सशस्त्र प्रहरीले जनाएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै सीमास्तम्भहरूको अवस्थाबारे अद्यावधिक जानकारी राख्न यस्ता अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।









