२०८३ जेठ २७ , बुधबार

मनसुनजन्य जोखिमबारे प्रदेशस्तरीय फोरम



सुर्खेत । मनसुनजन्य विपद्को जोखिम पूर्वानुमान, पूर्वतयारी र प्रतिकार्यका विषयमा केन्द्रित ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) को प्रतिबद्ध तिन परियोजनाको सहकार्यमा आयोजित फोरममा मनसुनजन्य विपद् व्यवस्थापनका विभिन्न पक्षमा छलफल गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले प्रदेशका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन नसकेको उल्लेख गर्दै आवश्यक उपकरण व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।  जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलले मनसुन सिजन २०८३ को जलवायु आकलन तथा विपद् जोखिम न्यूनीकरणमा विभागको भूमिकाबारे प्रस्तुतीकरण गरे ।

पिपल इन निडका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले आगामी मनसुनमा देशभर करिब दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान सार्वजनिक गरे ।  उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५१ हजार छ सय २६ र कर्णाली प्रदेशमा सबैभन्दा कम १३ हजार एक सय ७५ जना प्रभावित हुन सक्ने आकलन गरिएको छ। फोरममा प्रदेश सरकारका सचिवहरू, आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि, विकास साझेदार संस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार