२०८३ जेठ २८ , बिहीबार

स्ववियुले गर्याे प्रतिभा सम्मान



जुम्ला ।  जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्व तथा खेलाडीहरूलाई सम्मान गरेको छ । जिल्लामा उत्कृष्ट कार्य गर्दै शिक्षा र खेलकुद क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको स्ववियुले जनाएको छ । कार्यक्रममा जिल्लाबाट माध्यमिक तहका उत्कृष्ट शिक्षकका रूपमा छनोट भई कर्णाली प्रदेश सरकारद्वारा उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित ऋणमोक्ष माध्यमिक विद्यालय, पातारासी गाउँपालिका–डिल्लीचौरका शिक्षक हरिबहादुर बुढालाई सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।

शिक्षक बुढाले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा खेलेको भूमिकाको कदरस्वरूप सम्मान गरिएको स्ववियुले जनाएको छ । त्यसैगरी, नेपालको यू–२० राष्ट्रिय फुटबल टोलीका कप्तान तथा जुम्लाका प्रतिभाशाली खेलाडी धर्मेन्द्र कुँवरलाई पनि विशेष सम्मान गरिएको छ । राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै जुम्लाको पहिचान स्थापित गर्न सफल भएको भन्दै उनको योगदानको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कपमा सहभागी भई जिल्लाको प्रतिनिधित्व गरेका विभिन्न खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । खेलाडीहरूको मनोबल उच्च बनाउन र आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको जनाइएको छ । कार्यक्रममा बोल्दै स्ववियु पदाधिकारीहरूले शिक्षा र खेलकुद क्षेत्रका सफल व्यक्तित्वहरू समाजका लागि प्रेरणाका स्रोत भएको बताए । उनीहरूले यस्ता प्रतिभाहरूको सम्मानले अन्य युवालाई पनि मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

आगामी दिनमा पनि जिल्लाका प्रतिभावान शिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने स्ववियुले जनाएको छ । सम्मानित व्यक्तित्वहरूले प्राप्त सम्मानले आफूहरूलाई थप जिम्मेवार, उत्साहित र उत्प्रेरित बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफ्नो क्षेत्रबाट अझ प्रभावकारी योगदान दिँदै जिल्लाको गौरव बढाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार