२०८३ जेठ २८ , बिहीबार

लैंगिक विभेद अन्त्यका लागि महिला–पुरुषको साझा प्रयास आवश्यक : सचिव श्रेष्ठ



सुर्खेत, २८ जेठ । सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले लैंगिक विभेद अन्त्यका लागि महिला र पुरुष दुवैको साझा प्रयास आवश्यक रहेको बताएकी छन् । बिहिवार कर्णाली प्रदेशमा लैंगिक समानता तथा सामाजिक मूल्यमान्यता रूपान्तरण सम्बन्धी पुरुष तथा किशोर च्याम्पियनहरूसँग आयोजित कार्यशाला गोष्ठीमा सचिव श्रेष्ठले यस्ताे बताएकी हुन् ।

युनएनएफपिएको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले कर्णालीमा अझै पनि लैंगिक असमानता विद्यमान रहेको उल्लेख गरिन् । उनले परियोजनाले लैंगिक विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।

सचिव श्रेष्ठले लैंगिक विभेद अन्त्यका लागि सरकार, समुदाय तथा सरोकारवाला सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । “समाजमा रहेका हानिकारक प्रथा र विकृति हटाउन एक पक्षको प्रयास मात्र पर्याप्त हुँदैन, महिला र पुरुष मिलेर अघि बढ्नुपर्छ,” उनले भनिन् ।

उनले महिला सशक्तीकरणको अर्थ पुरुषलाई पछाडि पार्नु नभई महिला र पुरुषबीच समान अवसर, सम्मान र अधिकार सुनिश्चित गर्नु रहेको स्पष्ट पारिन्  “लैंगिक समता भनेको कसैले कसैमाथि विभेद नगर्ने अवस्था हो,” उनले भनिन् ।
सचिव श्रेष्ठले धर्म र संस्कृतिले विभेदलाई प्रश्रय नदिए पनि परम्परागत सोच र अभ्यासका कारण महिलामाथि विभेद हुने गरेको उल्लेख गरिन् । महिलामाथि हुने विभेद अन्त्य नभएसम्म समतामूलक समाज निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

उनले छोरीहरूको शिक्षा, क्षमता विकास र आत्मनिर्भरता सुनिश्चित गर्न परिवार, समुदाय तथा राज्यले सहयोगी भूमिका खेल्नुपर्ने बताइन् । छोरीलाई घर र समाजबाट आवश्यक सहयोग तथा अवसर प्रदान गर्न सके मात्र वास्तविक लैंगिक समानता हासिल गर्न सकिने उनको धारणा थियो ।

कार्यक्रममा सहभागी पुरुष तथा किशोर च्याम्पियनहरूले लैंगिक समानता प्रवर्द्धन, सामाजिक मूल्य–मान्यतामा सकारात्मक परिवर्तन र विभेदरहित समाज निर्माणका लागि आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार