रुकुमपश्चिम । रुकुमपश्चिमको खारामा निर्माणाधीन ‘खारा जनयुद्ध सङ्ग्रहालय’ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको छ । सशस्त्र द्वन्द्वकालीन घटनालाई अभिलेखका रूपमा संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको यो महत्त्वाकाङ्क्षी परियोजना निर्धारित समयमै सम्पन्न हुन सकेको छैन । त्रिवेणी गाउँपालिका तिन र छ को सिमानास्थित झुल्नेटा धुममा निर्माण भइरहेको सङ्ग्रहालयका लागि करिब १३ करोड रुपैयाँ लगानी गरिएको छ । डिभिजन वन कार्यालय रुकुमपश्चिममार्फत सञ्चालन भइरहेको योजनाको निर्माण जिम्मा जम्बुदीप जेबिजिभी नेपालगन्जले लिएको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठका अनुसार २०८० साउन १४ गते भएको सम्झौताअनुसार २०८२ असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर सम्झौता अनुसार काम नभएपछि २०८३ असार १५ गतेसम्मका लागि म्याद थप गरिएको छ । हालसम्म परियोजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ४०.६७ प्रतिशत मात्र रहेको छ । १२ करोड ९८ लाख ९६ हजार ७३ रुपैयाँ ५६ पैसामा सम्झौता भएको योजनामा हालसम्म पाँच करोड ५० लाख नौ हजार सात सय ६० रुपैयाँ ८६ पैसा भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।
सङ्ग्रहालय भवन, चिल्ड्रेन पार्क, भ्यु टावर र पदमार्ग निर्माणलगायतका संरचना योजनामा समावेश भए पनि अधिकांश काम अझै अधुरै छन्। जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम नेतृत्वको अनुगमन टोलीले निर्माणस्थलको निरीक्षणपछि कुनै पनि संरचना पूर्ण नभएको र काम लथालिङ्ग अवस्थामा रहेको निष्कर्ष निकालेको थियो । स्थानीयवासीले सङ्ग्रहालय निर्माण सम्पन्न भए पर्यटन प्रवर्द्धन, ऐतिहासिक सम्पदाको संरक्षण तथा द्वन्द्वकालीन घटनाको अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले परियोजनालाई शीघ्र पूरा गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।








