हुम्ला । जिल्लाकाे सर्केगाड गाउँपालिकाले सामुदायिक विद्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल शिक्षा अभियान सुरु गरेको छ । शिक्षण प्रणालीलाई समयानुकूल बनाउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्री विद्यालयमा हस्तान्तरण गरेको हो । ‘प्रविधिमैत्री भौतिक पूर्वाधारको माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले २५ थान स्मार्ट बोर्ड, प्रत्येक विद्यालयका लागि चार/चार वटा सिसिटिभी क्यामरा, ई–हाजिरी प्रणाली, प्रोजेक्टर तथा अन्य आवश्यक आईसीटी सामग्री वितरण गरेको जनाएको छ । यी उपकरणले विद्यालयको शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी र आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले कार्यक्रमको उद्देश्य उपकरण वितरणमा मात्र सीमित नभई विद्यालयलाई आधुनिक सिकाइ केन्द्रका रूपमा विकास गर्नु रहेको बताए । उनका अनुसार डिजिटल प्रविधिको प्रयोगले विद्यार्थीलाई सहज, सिर्जनात्मक र सहभागितामूलक सिकाइ वातावरण उपलब्ध हुनेछ । स्मार्ट बोर्डमार्फत शिक्षकले भिडियो, चित्र, एनिमेसन, प्रस्तुतीकरण तथा अन्य श्रव्यदृश्य सामग्री प्रयोग गरेर पाठ अध्यापन गर्न सक्नेछन् ।
यसबाट कठिन विषयवस्तु पनि विद्यार्थीले सहज रूपमा बुझ्न सक्ने विश्वास गरिएको छ । साथै, प्रोजेक्टर र अन्य डिजिटल सामग्रीले कक्षाकोठालाई थप अन्तरक्रियात्मक बनाउने अपेक्षा गरिएको छ । विद्यालयमा जडान गरिने ई–हाजिरी प्रणालीले शिक्षक तथा कर्मचारीको उपस्थितिलाई डिजिटल रूपमा अभिलेख राख्नेछ। यसले विद्यालय प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । त्यस्तै, सिसिटिभी क्यामराले विद्यालय परिसरको सुरक्षा सुदृढ गर्नुका साथै विद्यार्थीको अनुशासन कायम राख्न र विद्यालयको सम्पत्तिको संरक्षण गर्न सहयोग पुर्याउनेछ ।
दुर्गम जिल्लाका सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको विस्तारले ग्रामीण शिक्षामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि गाउँपालिकाको यस पहलले विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्दै भविष्यका लागि आवश्यक सीप विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।








