हुम्ला । जिल्लाकाे सर्केगाड गाउँपालिका एक जैरगाउँकी २२ वर्षीया कल्पना नेपालीले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ । यो घटनाले दुर्गम हिमाली जिल्लामा सुरक्षित मातृत्व सेवाको पहुँच अझै कमजोर रहेको तथ्य उजागर गरेको छ । गत बिहीबार प्रसव पीडा सुरु भएपछि परिवारका सदस्यले कल्पनालाई स्वास्थ्य संस्थामा पुर्याउने प्रयास गरेका थिए ।
गाउँमा स्ट्रेचरको समेत व्यवस्था नभएकाले उहाँलाई हिँडाएरै लैजानुपरेको थियो । घर नजिक रहेको स्याडा स्वास्थ्य संस्थामा आवश्यक प्रसूति सेवा र उपकरणको अभाव भएपछि परिवारले उहाँलाई करिब आधा घण्टाको पैदल दूरीमा रहेको जैर स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा शुक्रबार बाटोमै शिशु जन्मिएको हो । प्रसवपछि अत्यधिक रक्तस्राव भएपछि आफन्तले तत्काल स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।
जैर स्वास्थ्य चौकीका इन्चार्ज बखत बुढाका अनुसार स्वास्थ्यकर्मी घटनास्थल पुगेर आमा र नवजात शिशुलाई स्वास्थ्य चौकीमा ल्याई आवश्यक उपचार गरिएको थियो । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । स्थानीयवासीका अनुसार जैरगाउँमा सडक, यातायात र पर्याप्त स्वास्थ्य सेवा नहुँदा गर्भवती महिला तथा अन्य बिरामीले समयमै उपचार पाउन कठिनाइ भोगिरहेका छन् ।
जटिल प्रकृतिका सुत्केरीका लागि आवश्यक विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा जोखिम झन् बढ्ने गरेको उनीहरूको भनाइ छ । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जटिल अवस्थाका गर्भवती महिलाका लागि हवाई उद्धारको व्यवस्था गरेको भए पनि मौसम प्रतिकूल हुनु, सञ्चार सुविधा कमजोर रहनु र दुर्गम बस्तीमा सूचना समयमै नपुग्नुका कारण धेरै महिला उक्त सेवाबाट लाभान्वित हुन सकेका छैनन् । स्थानीयले सुरक्षित मातृत्व सुनिश्चित गर्न गाउँस्तरमै गुणस्तरीय प्रसूति सेवा, आवश्यक स्वास्थ्य सामग्री, एम्बुलेन्स वा स्ट्रेचरको व्यवस्था तथा यातायात पूर्वाधार सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।









