२०८३ भदौ १९ , शुक्रबार

महावैका करार शिक्षकलाई पनि तलब वृद्धि



कालीकोट । जिल्लाकाे महावै गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारी तथा शिक्षकको मासिक पारिश्रमिक २१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार बढेको पारिश्रमिक २०८३ साउन एक गतेदेखि लागू भएको छ । गाउँपालिकाले बढ्दो महँगीको प्रभावलाई ध्यानमा राख्दै करार कर्मचारी तथा शिक्षकको आर्थिक अवस्था सुधार गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले पारिश्रमिक वृद्धि गरेको जनाएको छ ।

निर्णय लागू भएसँगै गाउँपालिकामा कार्यरत सबै करार कर्मचारी र शिक्षकले साविकको भन्दा २१ प्रतिशत बढी मासिक पारिश्रमिक पाउनेछन् । प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाले सङ्घीय सरकारले स्थायी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेपछि त्यसको निरन्तरताका रूपमा स्थानीय सरकारले पनि करार सेवामा कार्यरत कर्मचारी र शिक्षकलाई समान दरमा पारिश्रमिक वृद्धि गरेको बताए । उनका  अनुसार महँगीको असर स्थायी र करार दुवै कर्मचारीमा समान रूपमा पर्ने भएकाले स्थानीय सरकारले विभेद नगरी निर्णय गरेको हो ।

उनले करार सेवामा कार्यरत कर्मचारी तथा शिक्षकले स्थानीय तहमा शिक्षा, प्रशासन र सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मानस्वरूप पारिश्रमिक बढाइएको स्पष्ट पारे । यस निर्णयले कर्मचारीको मनोबल बढ्नुका साथै सेवाप्रति जिम्मेवारी र कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै करार कर्मचारीको पारिश्रमिक वृद्धि गरिएको बताए । उनले धेरै सरकारी कार्यालय तथा स्थानीय तहमा करार कर्मचारीले अझै पनि समान कामका लागि कम सुविधा पाउने अवस्था रहेको उल्लेख गर्दै महावै गाउँपालिकाले समान व्यवहारको अभ्यास गरेको दाबी गरे ।

उनका अनुसार कर्णाली प्रदेश सरकारले पनि करार कर्मचारीका लागि महँगी भत्ताको व्यवस्था गर्न बजेट विनियोजन गरेको छ। त्यसैले स्थानीय सरकारले पनि करार सेवामा कार्यरत जनशक्तिको हकहितलाई प्राथमिकतामा राख्दै यो निर्णय गरेको हो। गाउँपालिकाको निर्णयबाट करार कर्मचारी तथा शिक्षक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । स्थानीय तहमा कार्यरत जनशक्तिको मनोबल अभिवृद्धि र सेवा प्रवाहको गुणस्तर सुधार गर्न यो निर्णय सकारात्मक कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार