२०८३ साउन ५ , मंगलबार

मदन पुरस्कार २०८२ का लागि १० कृति श्रेष्ठ सूचीमा



काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार २०८२ का लागि १० वटा कृति श्रेष्ठ सूचीमा छनोट भएका छन् । मदन पुरस्कार गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृतिलाई अन्तिम प्रतिस्पर्धाको सूचीमा राखिएको जनाएको हो । गुठीका अनुसार यस वर्ष पुरस्कारका लागि कुल दुई सय ९८ वटा पुस्तक प्राप्त भएका थिए । तीमध्ये साहित्यिक गुणस्तर, विषयवस्तु, मौलिकता र प्रभावलगायत विभिन्न आधारमा मूल्याङ्कन गरी १० कृति श्रेष्ठ सूचीमा समावेश गरिएको हो । श्रेष्ठ सूचीमा परेका कृतिमध्ये एउटा उत्कृष्ट कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।

अकारादि क्रममा सार्वजनिक गरिएको श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ रहेका छन् ।  मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा वि.सं. २०७२ सालदेखि गुठीमा प्राप्त पुस्तकमध्ये बढीमा १० वटा कृतिलाई छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको उल्लेख गरिएको छ ।

गुठीले पुस्तक छनोट गर्दा विषयको नवीनता, सिर्जनात्मकता, भाषिक सौन्दर्य र कृतिको साहित्यिक महत्वलाई मुख्य आधार बनाउँदै आएको जनाएको छ । गुठीको नियमअनुसार प्रकाशित कृतिमा अप्रकाशित सामग्रीको मौलिकता र नयाँपनलाई पनि छनोटको महत्वपूर्ण आधारका रूपमा लिने गरिएको छ । यस प्रक्रियाबाट नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‍याउने कृतिको पहिचान गरी सम्मान गर्ने उद्देश्य रहेको गुठीले जनाएको छ ।

वि.सं. २०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा विभिन्न विधाका उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गरेको थियो । त्यस वर्ष गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिले मदन पुरस्कार प्राप्त गरेका थिए ।

त्यसयता नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई निरन्तर रूपमा मदन पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली साहित्यको विकास, संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको यो पुरस्कारको राशि वि.सं. २०७५ सालदेखि चार लाख रुपैयाँ कायम गरिएको छ । अब श्रेष्ठ सूचीमा रहेका १० कृतिमध्ये निर्णायक समितिको अन्तिम निर्णयपछि मदन पुरस्कार–२०८२ विजेता घोषणा गरिनेछ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार