२०८३ साउन ५ , मंगलबार

विद्यालय भवन भत्किँदा त्रिपालमै पढाइ



हुम्ला । जिल्लाकाे चङ्खेली गाउँपालिका पाँच स्थित नेप्कागाउँको डाँफे आधारभूत विद्यालय पहिरोका कारण ठूलो क्षति बेहोरेपछि विद्यार्थीहरू खुला चौरमा त्रिपाल टाँगेर पठनपाठन गर्न बाध्य भएका छन् । गत जेठ पाँच गते राति आएको भीषण पहिरोले विद्यालयका छ वटा भवनमध्ये पाँच वटा पूर्ण रूपमा भत्काइदिएपछि विद्यालयको नियमित शैक्षिक गतिविधि प्रभावित भएको हो ।

विद्यालय भवन ध्वस्त भएपछि स्थानीयवासी तथा सहयोगी मन भएका व्यक्तिहरूको सहयोगमा चौरमा त्रिपाल टाँगेर अस्थायी कक्षाकोठा तयार गरिएको छ । हाल कक्षा चार देखी सातका विद्यार्थीहरू त्यही त्रिपालमुनि अध्ययन गरिरहेका छन् । एउटा त्रिपालमा १२ देखि २० जना विद्यार्थी अट्ने व्यवस्था गरिएको भए पनि वर्षा, हावा र अन्य प्रतिकूल मौसमका कारण अध्ययन–अध्यापन सहज हुन सकेको छैन ।

विद्यालयका प्रधानाध्यापक बली तामाङका अनुसार खुला चौरमा पढाउनुभन्दा त्रिपाल केही सुरक्षित भए पनि त्यसले प्रभावकारी शैक्षिक वातावरण सिर्जना गर्न नसकेको बताए । विद्यालयसँग पर्याप्त जग्गा नभएकाले अस्थायी संरचना विस्तार गर्नसमेत कठिनाइ भइरहेको उनकाे  भनाइ छ । कक्षा आठ सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल ८३ जना विद्यार्थी अध्ययनरत छन् । पहिरोबाट जोगिएको एउटा मात्र भवनमा अन्य कक्षाहरू जेनतेन सञ्चालन भइरहेका छन् ।  पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थी र शिक्षक दुवैले दैनिक रूपमा विभिन्न समस्या भोग्नुपरेको छ ।

विद्यालयको भौतिक संरचनामा भएको क्षतिपछि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा नयाँ विद्यालय भवन निर्माणका लागि सामाजिक विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानीयवासीले उक्त बजेटको शीघ्र कार्यान्वयन गरी सुरक्षित भवन निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उक्त पहिरोले विद्यालयमा मात्र नभई नेप्कागाउँका स्थानीयवासीको जनजीवनमा पनि ठूलो असर पुर्‍याएको थियो । पहिरोले स्थानीयको भेडाबाख्रा बगाउनुका साथै खेती गरिएको जमिनसमेत क्षतिग्रस्त बनाएको थियो, जसका कारण गाउँलेहरूले आर्थिक र कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार