मुगु । आर्थिक वर्ष २०८२/८३ मा मुगु जिल्लामा विनियोजित बजेटमध्ये झण्डै एक अर्ब रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार कुल ९९ करोड ७४ लाख ८१ हजार एक सय २९ रुपैयाँ बजेट खर्च हुन नसकेको हो । विकास निर्माणका काम समयमै सम्पन्न हुन नसक्दा र बजेट कार्यान्वयनमा ढिलाइ हुँदा ठूलो रकम फ्रिज भएको सम्बन्धित कार्यालयले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका प्रमुख विवेक गिरीका अनुसार कार्यालयमार्फत विनियोजित तीन अर्ब ३९ करोड ८८ लाख ४४ हजार आठ सय आठ रुपैयाँमध्ये चालुतर्फ दुई अर्ब ५५ करोड ९८ लाख ८५ हजार पाँच सय ३६ रुपैयाँ र पुँजीगततर्फ ३१ करोड ८२ लाख ७६ हजार छ सय ३१ रुपैयाँ खर्च भएको छ । यससँगै कुल दुई अर्ब ८७ करोड ८१ लाख ६२ हजार १९५ रुपैयाँ खर्च हुँदा ५२ करोड छ लाख ८२ हजार छ सय १५ रुपैयाँ बजेट फ्रिज भएको छ ।
कार्यालयका अनुसार चालुतर्फ ९१.५ प्रतिशत बजेट खर्च भए पनि पुँजीगततर्फ खर्च ५३ प्रतिशतमा सीमित रह्यो । स्थानीय तहको खर्च विवरणमा पनि अपेक्षा अनुसार प्रगति हुन सकेको देखिँदैन । छायाँनाथ रारा नगरपालिकाले प्राप्त बजेटमध्ये ३८ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ भने मुगुमकार्मारोङ गाउँपालिकाले २१ करोड ११ लाख रुपैयाँ, सोरु गाउँपालिकाले ३० करोड ९१ लाख रुपैयाँ र खत्याड गाउँपालिकाले ३६ करोड ७९ लाख रुपैयाँ खर्च गरेका छन् ।
अधिकांश स्थानीय तहमा विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ हुँदा बजेट पूर्ण रूपमा उपयोग हुन नसकेको देखिएको छ । यता, प्रदेश लेखा नियन्त्रक कार्यालय मुगुका अनुसार प्रदेशअन्तर्गतका आठ कार्यालयका लागि विनियोजित एक अर्ब ३९ करोड सात लाख ४५ हजार नाै सय ९० रुपैयाँमध्ये एक अर्ब २१ करोड ३९ लाख ४७ हजार दुई सय ७० रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेशतर्फ मात्रै ४७ करोड ६७ लाख ९८ हजार पाँच सय १६ रुपैयाँ बजेट फ्रिज भएको कार्यालयले जनाएको छ ।
प्रदेशतर्फ चालु बजेटको ७८ प्रतिशत र पुँजीगत बजेटको ६८ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा पनि मुगुमा ९३ करोड २४ लाख रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको थियो । लगातार ठूलो रकम खर्च हुन नसक्नुले विकास निर्माणका योजना प्रभावित भइरहेका छन् । समयमै योजना सम्पन्न गर्ने, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा पुँजीगत खर्च बढाउनेतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।









