२०८३ भदौ १९ , शुक्रबार

स्वास्थ्य बिमा सेवा पुन सञ्चालनमा



सल्यान । केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतको सेवा सल्यानमा पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सेवा कार्यालय, सल्यानले स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने दाबी रकमको भुक्तानी तथा सुविधा प्याकेज सम्बन्धी समस्या समाधान भएपछि साउन पाँच  गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा पुनः नियमित रूपमा सञ्चालन गरिएको जनाएको हो ।

कार्यालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले प्राप्त गर्नुपर्ने बिमा दाबी रकम समयमै भुक्तानी नहुँदा सेवा सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएको थियो । त्यस्तै, बोर्डले लागू गरेको सुविधा प्याकेजमा उपचार तथा सेवाको दर न्यून रहेकाले अस्पताललाई सेवा सञ्चालन गर्न कठिनाइ भएको भन्दै केही समयका लागि स्वास्थ्य बिमा सेवा स्थगित गरिएको थियो । स्वास्थ्य बिमा बोर्डले सुविधा प्याकेजमा आवश्यक परिमार्जन गरेपछि भने सेवा पुनः सञ्चालन गर्ने वातावरण बनेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएसँगै अस्पतालमा स्वास्थ्य बिमा कार्डमार्फत उपचार, परीक्षण तथा बिमा अन्तर्गत उपलब्ध गराइने अन्य सेवा नियमित रूपमा सञ्चालन हुन थालेका छन् । कार्यालयले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सबै सेवाग्राहीलाई आफ्नो स्वास्थ्य बिमा परिचयपत्र (कार्ड) साथमा लिएर अस्पतालमा उपस्थित भई निर्धक्क रूपमा उपचार सेवा लिन आग्रह गरेको छ । केही समयदेखि अवरुद्ध रहेका बिमा सम्बन्धी सेवा पुनः सुचारु भएकाले अब सेवाग्राहीले नियमित रूपमा स्वास्थ्य बिमाको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

अस्पताल प्रशासनले स्वास्थ्य बिमा अन्तर्गत औषधि वितरण सम्बन्धी व्यवस्था भने यथावत रहने स्पष्ट पारेको छ । अस्पताल फार्मेसीबाट स्वास्थ्य बिमाअन्तर्गत उपलब्ध गराइने औषधि एक पटकमा अधिकतम एक महिनाका लागि मात्र वितरण गरिने व्यवस्था कायम रहने जनाएको छ । यसले औषधिको व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै सबै सेवाग्राहीलाई समान रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अस्पतालको विश्वास छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ । कार्यालयका अनुसार आगामी दिनमा स्वास्थ्य बिमा सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ । स्वास्थ्य बिमा सेवाको पुनः सञ्चालनसँगै जिल्लाका बिमामा आबद्ध हजारौँ सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार