सुर्खेत । पछिल्ला तीन आर्थिक बर्षमा उच्च अदालत सुर्खेत र मातहतका जिल्लाहरुले १८ हजार ५ सय १२ मुद्दा फछ्र्यौट गरेका छन् । उच्च अदालतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला अदालतहरुले यो संख्यामा मुद्दाहरु फछ्र्यौट गरेका हुन् । उच्च अदातल सुर्खेतले आर्थिक बर्ष २०८०/०८१ मा ९ सय १६ मुद्दा, २०८१/०८२ मा ८ सय ३२ मुद्दा र २०८२/०८३ मा ९ सय १५ मुद्दा गरी जम्मा २ हजार ६ सय ६३ वटा फछ्र्यौट गरेको उच्च अदालत सुर्खेतका उपरजिष्ट्रार तथा प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिए । जाजरकोट जिल्ला अदालतले तीन आर्थिक बर्ष जम्मा १ हजार १७२ फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा ३ सय ४२ मुद्दा, २०८१/०८२ मा ४ सय ११ मुद्दा, २०८२/०८३ मा ४ सय १९ मुद्दा फछ्र्यौट गरेको छ ।

दैलेख जिल्ला अदालत आर्थिक बर्ष २०८०/०८१ मा ४ सय ६२ मुद्दा, २०८१/०८२ मा ५ सय ३३ मुद्दा र २०८२/०८३ मा ५ सय ४४ मुद्दा फछ्र्यौट गरेको छ । जाजरकोट जिल्ला अदालतले पछिल्ला तीन आर्थिक बर्षमा कुल १ हजार ५ सय ५९ मुद्दा फछ्र्यौट गरेको हो । रुकुम पश्चिम जिल्ला अदालतबाट आर्थिक बर्ष २०८०/०८१ मा ६ सय २० मुद्दा, २०८१/८२ मा ६ सय ७९ मुद्दा र आर्थिक बर्ष २०८२/०८३ मा ७ सय ८१ मुद्दासहित जम्मा जम्मा २ हजार ८० मुद्दा फछ्र्यौट गरेको छ । यस्तै सल्यान जिल्ला अदालतबाट पछिल्ला तीन आर्थिक बर्षमा २ हजार २ सय ६४ मुद्दा फछ्र्यौट भएका छन् । आर्थिक बर्ष २०८०/८१ मा ७२४ मुद्दा, २०८१/८२ मा ७ सय ३१ मुद्दा र २०८२/०८३ मा ८ सय ९ मुद्दा सल्यान अदालतले फछ्र्यौट गरेको हो ।
सुर्खेत जिल्ला अदालतले ८ हजार ७ सय ४४ मुद्दा पछिल्ला तीन आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । जसमध्ये आर्थिक बर्ष २०८०/०८१ मा २ हजार ७ सय १६ मुद्दा, २०८१/०८२ मा २ हजार ९ सय १२ मुद्दा र २०८२/८३ मा ३ हजार १ सय ४६ मुद्दा फछ्र्यौट गरिएको छ । आर्थिक बर्ष २०८२/०८३ मा उच्च अदालत तथा मातहतका जिल्ला अदालतहरुमध्ये प्रतिशतका हिसाबले सबैभन्दा धेरै मुद्दा फछ्र्यौट जिल्ला अदालत जाजरकोटले गरेको छ । मुद्दाका आधारमा जाजरकोट अदालतले ८९.४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । उच्च अदालत सुर्खेतले ८२.५ प्रतिशत, दैलेख जिल्ला अदालतले ७९.८ प्रतिशत, सल्यान जिल्ला अदालतले ७३.४ प्रीतशत, सुर्खेत जिल्ला अदालतले ६३.२ प्रतिशत मुद्दा गत आर्थिक बर्षमा फछ्र्यौट गरेका छन् ।
उच्च अदालत सुर्खेतमा गत आर्थिक बर्ष सबैभन्दा धेरै जबर्जस्ती करणीका १ सय ६९ मुद्दा परेका थिए । तीमध्ये १ सय ५४ फछ्र्यौट भएका छन् भने १५ वटा बाँकी रहेका छन् । मंगलबार उच्च अदालत सुर्खेतद्वारा आयोजित वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले सीमित न्यायाधीश, कर्मचारी अभाव र बढ्दो मुद्दाका कारण अपेक्षित गतिमा सबै मुद्दा टुंग्याउन नसकिएको बताए । मुख्य न्यायाधीश भण्डारीका अनुसार गत आर्थिक बर्षमा उच्च अदालतबाट १ सय २६ वटा मुद्दा मेलमिलापको माध्यमबाट फछ्र्यौट गरिएको छ । मेलमिलापका लागि पठाईएका ६ सय ९३ मुद्दामध्ये १ सय २६ वटा फछ्र्यौट भएको उनले जानकारी दिए ।







