२०८३ भदौ २० , शनिबार

हुम्लामा ८ हजार ४६८ क्विन्टल खाद्यान्न मौज्दात



सिमकोटा ।  हिमाली जिल्ला हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा उपलब्ध गराइएको आठ हजार चार सय ६८ दशमलव ९९ क्विन्टल खाद्यान्न आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म मौज्दात रहेको छ । एक वर्षभर शाखा कार्यालय, दुईवटा डिपो तथा बिक्री केन्द्रमार्फत वितरण गर्दा पनि ठूलो परिमाणमा खाद्यान्न बिक्री हुन बाँकी रहेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णपुन मगरका अनुसार गत आर्थिक वर्षका लागि जिल्लामा कुल २२ हजार छ सय ७३ दशमलव १७ क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरिएको थियो । त्यसमध्ये १४ हजार २०४ दशमलव एक सय ७९ क्विन्टल खाद्यान्न बिक्री भएको छ भने बाँकी आठ हजार चार सय ६८ दशमलव ९९ क्विन्टल मौज्दात रहेको छ । कम्पनीले सुर्खेत, नेपालगञ्ज, राजापुर, धनगढी र थापाथलीबाट खाद्यान्न ढुवानी गरी हुम्ला पुर्‍याएको जनाएको छ ।

सडक पहुँच नभएका अधिकांश स्थानमा पैदल मार्गबाट खाद्यान्न ढुवानी गरिएको थियो । शाखा कार्यालय सिमकोटमा सबैभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । वार्षिक १८ हजार तिन सय ८५ दशमलव चार सय २९ क्विन्टल कोटामध्ये हाल छ हजार चार सय ३८ दशमलव ९९ क्विन्टल खाद्यान्न गोदाममा रहेको कम्पनीले जनाएको छ । सर्केगार्ड डिपोमा चार सय ४० क्विन्टलमध्ये चार सय २० दशमलव ५० क्विन्टल बिक्री भई १९ दशमलव ५० क्विन्टल बाँकी छ भने श्रीनगर डिपोमा एक हजार सात सय २२ दशमलव ७५ क्विन्टलमध्ये एक हजार चार सय १२ दशमलव २५ क्विन्टल बिक्री भएर तिन सय १० दशमलव ५० क्विन्टल मौज्दात रहेको छ ।

खार्पुनाथ गाउँपालिकाको याङ्चु बजार बिक्री केन्द्रका लागि पठाइएको एक हजार तिन सय २५ क्विन्टल र सर्केगार्ड गाउँपालिका एकको जैर बिक्री केन्द्रका लागि पठाइएको एक सय क्विन्टल खाद्यान्न पूर्ण रूपमा बिक्री भइसकेको छ । तर नाम्खा गाउँपालिका एक स्थित लिमी बिक्री केन्द्रका लागि ढुवानी गरिएको सात सय क्विन्टल तथा याल्वाङ बिक्री केन्द्रका लागि हालै पुर्‍याइएको एक हजार क्विन्टल खाद्यान्नको बिक्री प्रक्रिया अझै सुरु हुन बाँकी रहेको कम्पनीले जनाएको छ । शाखा प्रमुख मगरका अनुसार लिमी र याल्वाङमा खाद्यान्न हालै मात्र पुगेकाले मौज्दात देखिएको हो। स्थानीय उपभोक्तालाई चाँडै बिक्री वितरण सुरु गरिने र बाँकी खाद्यान्न क्रमिक रूपमा वितरण गरिने उनले बताए ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार