२०८३ भदौ २० , शनिबार

पहिरोले रुकुम पश्चिमको सामुदायिक विद्यालयमा क्षति



रुकुम पश्चिम ।  लगातारको वर्षापछि गएको पहिरोले रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा क्षति पुर्‍याएको छ । सानीभेरी गाउँपालिका नाै स्थित शिव आधारभूत विद्यालय, मगरराङ्जामा मंगलबार राति आएको पहिरोले विद्यालय भवनसँगै अन्य भौतिक संरचनामा क्षति पुगेपछि पठनपाठन प्रभावित बनेको हो । विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार खड्काका अनुसार विद्यालय भवनको पछाडिबाट आएको ठूलो पहिरोले दुई कोठे पक्की भवनमा क्षति पुर्‍याएको छ । हालै निर्माण गरिएको उक्त भवनमा पर्खाल चर्किने र संरचना जोखिममा पर्ने अवस्था सिर्जना भएको उनले बताए ।

पहिरोका कारण विद्यालयको दिवा खाजा कार्यक्रम सञ्चालनका लागि प्रयोग हुँदै आएको चमेना गृहसमेत पुरिएको छ । साथै पाँच सय लिटर क्षमताको पानीको ड्रम, ग्यास चुलो, भाँडावर्तनलगायतका सामग्री पनि पहिरोले पुरेको विद्यालयले जनाएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रधानाध्यापक खड्काले जानकारी दिए । नयाँ भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि विद्यालयले तत्कालका लागि पुरानो भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ ।

कक्षाकोठा अभावका कारण एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गर्नुपरेको विद्यालयको भनाइ छ । यसले नियमित शिक्षण सिकाइमा कठिनाइ उत्पन्न भएको छ । प्रधानाध्यापक खड्काका अनुसार विद्यालय भवनको पछाडिबाट आएको पहिरो अझै हटाइएको छैन । पहिरो पूर्ण रूपमा नहटाएसम्म क्षतिग्रस्त भवनमा विद्यार्थीलाई राख्न सुरक्षित नहुने भएकाले नयाँ भवन प्रयोगमा ल्याउन नसकिने अवस्था रहेको उनले बताए । यसबारे सानीभेरी गाउँपालिकालाई जानकारी गराइसकिएको र आवश्यक प्राविधिक मूल्याङ्कन तथा पुनःनिर्माणका लागि पहल भइरहेको उनले जानकारी दिए ।

शिव आधारभूत विद्यालयमा हाल बालशिक्षादेखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा ७३ जना विद्यार्थी अध्ययनरत छन् । प्राकृतिक विपद्का कारण विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेपछि विद्यार्थीको पठनपाठन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । स्थानीयवासीले पनि विद्यालयको जोखिम न्यूनीकरण तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मत वा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार