२०८३ साउन ६ , बुधबार

नाकच्यालाङ्ना नाका खुल्ने आशामा स्थानीय



मुगु । उत्तरी चीनसँग सीमा जोडिएको मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयवासी यस वर्ष पनि नाकच्यालाङ्ना सीमा नाका खुल्ने प्रतीक्षामा रहेका छन् । नाका सञ्चालनमा आएपछि वर्षौंदेखि रोकिएको परम्परागत सीमा व्यापार पुनः सक्रिय हुने र स्थानीयको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । विगतदेखि नै मुगुका मुगुगाउँ, डोल्फुगाउँ, माँग्री, छाइललगायत करान क्षेत्रका बासिन्दासँगै हुम्ला र जुम्लाका व्यापारी तथा स्थानीय नागरिकले चीनतर्फ रहेको नाकच्यालाङ्ना हाटबजारसँग व्यापारिक सम्बन्ध कायम गर्दै आएका छन् ।

नाका खुल्दा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुनुका साथै स्थानीय उत्पादनको निर्यातमा समेत टेवा पुग्ने विश्वास स्थानीयको छ । मुगुमकार्मारोङ गाउँपालिका दुईका स्थानीय तोर्ची लामाका अनुसार यस नाकामार्फत चीनबाट चिनी, घिउ, छुर्पी, चियापत्ति, लत्ताकपडा, च्याङ्ग्रा तथा भेडाको उनजस्ता सामग्री नेपाल भित्रिने गरेका छन् । त्यसैगरी नेपालबाट स्थानीय उत्पादन तथा अन्य वस्तु चीनतर्फ निर्यात हुने परम्परा रहिआएको उनले बताए ।

उनका अनुसार करिब दुई दशकअघिसम्म नाकच्यालाङ्ना नाका वर्षभरि सञ्चालनमा रहने भएकाले स्थानीयको व्यापार, रोजगारी र दैनिकी सहज थियो । तर पछिल्ला केही वर्षयता नाका वर्षमा बढीमा १५ देखी १६ दिन मात्र खुल्ने गरेकाले व्यापारिक गतिविधि सीमित हुनुका साथै स्थानीयको आयआर्जनमा प्रत्यक्ष असर परेको छ । सीमित अवधिका कारण आवश्यक सामग्री खरिद तथा स्थानीय उत्पादन बिक्री गर्नसमेत कठिनाइ हुने गरेको स्थानीयहरूको गुनासो छ ।

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले यस वर्ष पनि नाका सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय र पहल गरिएको जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायबाट नाका चाँडै सञ्चालन हुने आश्वासन प्राप्त भएको छ र स्थानीय व्यापारी तथा सर्वसाधारण आवश्यक तयारीका साथ प्रतीक्षामा रहेका छन्। गत वर्ष नाकच्यालाङ्ना नाका साउन १४ गतेदेखि साउन २९ गतेसम्म १५ दिनका लागि सञ्चालन गरिएको थियो । उक्त अवधिमा स्थानीयले खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री आयात गर्नुका साथै आफ्ना उत्पादनको बिक्री गरेका थिए । यस वर्ष पनि सोही अवधिमा वा त्यसभन्दा लामो समयका लागि नाका सञ्चालन हुने अपेक्षा गरिएको छ ।

यद्यपि जिल्ला प्रशासन कार्यालय मुगुले हालसम्म नाका सञ्चालनसम्बन्धी कुनै आधिकारिक सूचना प्राप्त नभएको जनाएको छ । मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले सम्बन्धित निकायबाट औपचारिक जानकारी प्राप्त भएपछि मात्र नाका सञ्चालनबारे सार्वजनिक सूचना जारी गरिने बताए । स्थानीयवासीले नाकच्यालाङ्ना नाका नियमित रूपमा सञ्चालन गर्न सके सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन, रोजगारी तथा स्थानीय अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले नाका सीमित अवधिका लागि मात्र नभई विगतझैँ नियमित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार