२०८३ भदौ २२ , सोमबार

सुर्खेतमा एलपीजी ग्यासको चरम अभाव



सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा पछिल्लो समय खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिँदै गएको छ । नियमित रूपमा ग्यास उपलब्ध नहुँदा सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइ भोगिरहेका छन् । ग्यास पाउने आशामा उपभोक्ताहरू रातिदेखि नै डिपोअगाडि खाली सिलिन्डर राखेर पालो कुर्न बाध्य छन् । तर, घण्टौँसम्म लाइनमा बसेपछि पनि धेरैले ग्यास नपाई खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था रहेको छ ।

उपत्यकाका विभिन्न ग्यास डिपोअगाडि बिहानैदेखि उपभोक्ताको भीड लाग्ने गरेको छ । महिला, ज्येष्ठ नागरिक तथा अन्य उपभोक्तासमेत लामो समयसम्म ग्यासको प्रतीक्षामा बस्ने गरेका छन् । सीमित परिमाणमा ग्यास आउने र मागअनुसार वितरण हुन नसक्दा उपभोक्ताले दैनिक सास्ती खेपिरहेका छन् । यसले घरायसी कामकाजसँगै होटल तथा साना व्यवसायसमेत प्रभावित भएका छन् ।

स्थानीय यामप्रसाद शर्मा रिजालले रातिदेखि लाइनमा बसे पनि डिपो खुलेपछि ‘ग्यास सकिएको’ भन्दै फर्काइने गरिएको गुनासो गरे । उनले खाना पकाउनसमेत समस्या भएको बताउँदै ग्यास आपूर्ति किन घटेको हो भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरे ।

अर्का स्थानीय गणेश आचार्यले ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न स्थानीय प्रशासन, वाणिज्य तथा उपभोक्ता संरक्षणसम्बन्धी निकाय र जिल्ला अनुगमन समितिले तत्काल सक्रियता देखाउनुपर्ने बताए ।  उनले डिपो तथा बिक्रेतामाथि निष्पक्ष अनुगमन गरी कृत्रिम अभाव वा कालोबजारी भएको पाइए कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गरे । उपभोक्ताहरूले ग्यास अभावको कारण र आपूर्तिको अवस्थाबारे सम्बन्धित निकायले पारदर्शी रूपमा जानकारी दिनुपर्ने बताएका छन् ।

उनीहरूका अनुसार समस्या समाधानका लागि प्रभावकारी व्यवस्थापन, नियमित आपूर्ति र बजार अनुगमन आवश्यक छ । अन्यथा सर्वसाधारणले झन् ठूलो सास्ती बेहोर्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ । स्थानीयवासीले ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायले तत्काल पहल नगरे विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरूले दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले शीघ्र प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार