२०८३ साउन ७ , बिहीबार

कर्णालीमा ट्राफिक कारबाहीबाट तिन करोड ४१ लाख राजस्व



कर्णाली । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार आठ सय ८५ सवारीसाधनलाई कारबाही गर्दै रु तिन करोड ४१ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी कारबाही र राजस्व दुवैमा कमी आएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार नाै सय ६४ सवारीसाधन कारबाहीमा पर्दा रु तिन करोड ६७ लाख ४३ हजार राजस्व सङ्कलन भएको थियो । प्रहरी उपरीक्षक रिजालले कारबाही र राजस्व घट्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै ट्राफिक प्रहरीले राजस्व सङ्कलनभन्दा सडक सुरक्षालाई प्राथमिकतामा राखेको बताए  । “हाम्रो उद्देश्य राजस्व उठाउनु होइन, चालकलाई ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्नु हो, उनले भने । उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवारी कारबाही २३ प्रतिशत र राजस्व सङ्कलन २० प्रतिशतले घटेको छ ।

कर्णाली प्रदेशमा दैनिक औसत एक सय एक वटा सवारीसाधन दर्ता हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी उपरीक्षक रिजालले प्रदेशमा सवारी दुर्घटनाको दर ३.२७ प्रतिशत रहेको जानकारी दिए ।  जिल्ला अनुसारको विवरणमा सुर्खेतमा सबैभन्दा बढी छ सय ९० वटा सवारी दुर्घटना भएको छ भने मुगुमा सबैभन्दा कम १७ वटा दुर्घटना भएका छन् । प्रदेशभर हाल एक हजार तिन सय ८४ किलोमिटर कालोपत्रे, एक हजार एक सय ९४ किलोमिटर ग्राभेल तथा सात हजार एक सय आठ किलोमिटर कच्ची सडक गरी कुल नौ हजार छ सय ८७ किलोमिटर सडक सञ्जाल रहेको छ । यी सडकमा सवारी व्यवस्थापनका लागि प्रदेशभर दुई सय १५ जना ट्राफिक प्रहरी कार्यरत छन् ।

कुल १६ लाख ९४ हजार आठ सय ८९ जनसङ्ख्याका आधारमा एक ट्राफिक प्रहरीले औसत ४५ किलोमिटर सडक क्षेत्रको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीको अध्ययनअनुसार कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका चालक संलग्न दुईपाङ्ग्रे सवारी दुर्घटना सबैभन्दा बढी हुने गरेका छन् । विशेषगरी तीव्र गतिका कारण अपराह्न १२ बजेदेखि साँझ छ बजेसम्म दुर्घटनाको जोखिम उच्च रहने गरेको प्रहरीको विश्लेषण छ ।

ट्राफिक सचेतना अभिवृद्धिका लागि आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर आठ हजार दुई सय ७८ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममार्फत पाँच लाख ६९ हजार दुई सय छ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यालयले जनाएको छ । प्रहरीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालकमा सचेतना वृद्धि तथा सडक सुरक्षामा सबै पक्षको सहकार्यबाट दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार