२०८३ साउन ८ , शुक्रबार

जुम्लाका सात सडकको ठेक्का आह्वान।



जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले आगामी आर्थिक वर्षको सुरुदेखि नै निर्माण कार्य अघि बढाउने लक्ष्यसहित सातवटा सडक आयोजनाको स्तरोन्नति तथा कालोपत्रेका लागि समयअघि नै ठेक्का आह्वान गरेको छ । बुधबार प्रकाशित सूचना अनुसार जुम्ला, कालिकोट र मुगु जिल्लाका महत्वपूर्ण सडकको स्तरोन्नति तथा कालोपत्रे कार्यका लागि प्रक्रिया सुरु गरिएको हो । विगतमा ढिलो ठेक्का प्रक्रिया, हिउँदे बिदा, असार केन्द्रित निर्माण प्रवृत्ति तथा निर्माण व्यवसायीको लापरबाहीका कारण कर्णालीका सडक आयोजना समयमै सम्पन्न हुन सकेका थिएनन् । यसपटक भने साउनअघि नै ठेक्का प्रक्रिया पूरा गरेर पहिलो चौमासिकदेखि निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार लामो समयदेखि अलपत्र रहेका सडक आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको हो । उनले काम नगरी म्याद थप्दै आयोजना लम्ब्याउने निर्माण व्यवसायीमाथि कानुनी कारबाही गरिएको जानकारी दिँदै हालसम्म १२ निर्माण व्यवसायीका १६ वटा ठेक्का सम्झौता रद्द गरिएको बताए । उनले अब नयाँ ठेक्का लिने निर्माण व्यवसायीले निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कर्णालीका नागरिकलाई सुरक्षित, सहज र भरपर्दो सडक सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताए । साथै कर्णाली राजमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार करिब २२ करोड रुपैयाँको लागतमा सातवटा सडक आयोजना कार्यान्वयन गरिनेछ । तीमध्ये दुईवटा सडक कालोपत्रे गरिनेछन् भने पाँचवटा सडकको स्तरोन्नति गरिनेछ । प्रत्येक आयोजनाका लागि करिब दुई करोडदेखि तिन करोड ५० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ ।

यसअन्तर्गत मुगुको रारा क्षेत्र जोड्ने सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिनेछ । साथै सुर्खेत–दैलेख–महावुलेक–गाल्जे–नाग्म–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यसैगरी त्रिवेणी हुँदै टोप्ला जोड्ने सडकको स्तरोन्नति गरिनेछ । यो सडक जुम्लालाई जाजरकोट हुँदै सुर्खेतसँग जोड्ने छोटो मार्गका रूपमा परिचित छ । सडक सुधार भएपछि भेरीखोला क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै स्थानीयको आवागमन र व्यापारिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त जुम्ला–खलंगा–खाली–भुलभुल–ताल्चा–मुगु सडक, मनाङ–मुस्ताङ–डोल्पा हुँदै जुम्ला जोड्ने सडक, कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको मान्मदेखि नाग्म बजारसम्मको खण्ड तथा नाग्म–जुम्ला सडकका विभिन्न भागको स्तरोन्नति गरिनेछ । सडक डिभिजन जुम्लाले आगामी निर्माण कार्यमा गुणस्तर र समयपालनलाई मुख्य प्राथमिकता बनाएको जनाएको छ । डिभिजन प्रमुख महताराको नेतृत्वमा पुराना अलपत्र ठेक्का रद्द गर्ने, समयमै नयाँ ठेक्का प्रक्रिया अघि बढाउने र जिम्मेवार निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याइएको छ ।

कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा सडक सञ्जाल पुगे पनि स्तरोन्नति अभावका कारण नागरिकले वर्षभर सहज यातायात सुविधा पाउन सकेका छैनन् । यसले स्थानीय उत्पादनको बजारीकरणमा समेत समस्या सिर्जना गरेको छ । विशेषगरी वर्षायाममा जुम्लाको प्रमुख उत्पादन स्याउ देशका विभिन्न बजारसम्म ढुवानी गर्न कठिनाइ हुने समस्या अझै कायम रहेको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार