सुर्खेत । पर्याप्त वर्षा नहुँदा कर्णाली प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाअनुसार हुन सकेको छैन। आधा वर्षायाम बितिसक्दा पनि प्रदेशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७७.०५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय, सुर्खेतले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायका अनुसार कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ३३ हजार तिन सय ५३ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
अझै करिब २३ प्रतिशत खेत बाँझै रहेका छन् । गत वर्ष यही अवधिसम्म प्रदेशमा ८३.२३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । समयमै मनसुन सक्रिय नहुँदा आकाशे पानीमा निर्भर किसानले रोपाइँ ढिलो गर्नुपरेको उनले बताए । सिँचाइ सुविधा पुगेका तथा पर्याप्त वर्षा भएका हिमाली जिल्लामा भने रोपाइँ उल्लेखनीय रूपमा अघि बढेको छ । जिल्लागत विवरणअनुसार जुम्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। डोल्पामा ९८ प्रतिशत, हुम्ला र मुगुमा ९५–९५ प्रतिशत, रुकुमपश्चिम र सल्यानमा ९२ देखी ९२ प्रतिशत, जाजरकोटमा ९० प्रतिशत, कालिकोटमा ८५ प्रतिशत र दैलेखमा ७९ प्रतिशत रोपाइँ भएको छ ।
सबैभन्दा कम सुर्खेतमा ५५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा १४ हजार नाै सय २१ हेक्टरमध्ये आठ हजार २०७ हेक्टरमा मात्र रोपाइँ भएको छ । जुम्लामा भने दुई हजार आठ सय ८८ हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा धान रोपिएको छ । कृषिविज्ञ पोषण घिमिरेका अनुसार ढिलो रोपाइँ हुँदा बिरुवाको वृद्धि प्रभावित हुने, उत्पादन घट्ने, रोग–कीराको जोखिम बढ्ने र बाली कटानीसमेत ढिलो हुने सम्भावना रहन्छ ।
विशेषगरी वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा यसको प्रभाव अझ बढी पर्ने उनले बताए । उनका अनुसार सिँचाइ सुविधाको अभाव, समयमा रासायनिक मल उपलब्ध नहुनु, गुणस्तरीय बिउमा सीमित पहुँच, खेतीयोग्य जमिन घट्दै जानु तथा जलवायु परिवर्तनका कारण नेपाल अझै धान तथा चामल उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन ।








