मुगु । मुगुम कार्मारोङ गाउँपालिका पाँच स्थित पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुवा सामान्य घाइते भएका छन् । शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका १३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेका बेला घरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो ।
पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। बिहान ४:४८ बजे स्वास्थ्य चौकी पुर्याइएका बालकलाई चिकित्सकले बिहान ५:४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाका अनुसार पहिरोमा परी जगनाथ र सृजना सामान्य घाइते भएका छन् । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। पहिरोका कारण पेमा लामाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । थप पहिरोको जोखिम बढेपछि आसपासका आठ घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।









