२०८३ साउन ९ , शनिबार

मुगु–कर्णाली करिडोर जोड्ने नेरघाटमा बेलिब्रिज सञ्चालन



हुम्ला । हुम्ला र मुगु जिल्लाको सिमानास्थित नेरघाटमा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएपछि मुगुको सोरु गाउँपालिका पाँचका स्थानीय प्रत्यक्ष रूपमा कर्णाली करिडोरसँग जोडिएका छन् । पुल सञ्चालनमा आएसँगै वर्षौंदेखि तुइन र झोलुङ्गे पुलको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयको समस्या समाधान भएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको आर्थिक सहयोग र सोरु गाउँपालिकाको सहजीकरणमा निर्माण गरिएको उक्त पुलले नेर र ताजा बस्तीका बासिन्दालाई सहज आवतजावतको सुविधा उपलब्ध गराएको छ ।

पुल सञ्चालनपछि गाउँसम्म सवारीसाधन पुग्न थालेको, यात्रा समय छोटिएको तथा दैनिक उपभोग्य सामग्री र कृषि उत्पादनको ढुवानी सहज भएको स्थानीयले बताएका छन् । हुम्लाको सर्केगार्ड गाउँपालिका एक जैरका पदमबहादुर धामीका अनुसार पुल निर्माणअघि स्थानीयले कर्णाली नदी पार गर्न बाबियोको तुइन र झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो। वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत झन् जोखिमपूर्ण हुने गरेको थियो ।

पशुचौपाया ओसारपसार गर्न कठिन हुनुका साथै कर्णाली करिडोरसम्म पुग्न चारदेखि पाँच घण्टासम्म लाग्ने गरेको उनले बताए । उनका अनुसार पुल सञ्चालनपछि गाउँबाट पालिका केन्द्र, मुगुको सदरमुकाम गमगढी तथा हुम्लाका विभिन्न बस्ती हुँदै कर्णाली करिडोरमार्फत सुर्खेत र नेपालगञ्जसम्म पुग्न सहज भएको छ । यसले स्थानीय कृषकले उत्पादन गरेका रैथाने अन्नबाली, फलफूल तथा अन्य कृषि उपज समयमै बजारसम्म पुर्‍याउन सक्ने भएकाले स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार बेलिब्रिज ६० मिटर लम्बाइ र ३.६ मिटर चौडाइको रहेको छ । उक्त पुल रिडार्क नेपाल प्रालि, ललितपुरले निर्माण गरेको हो । हुम्ला कर्णाली नदीमा पानीको उच्च बहाव तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका कारण निर्माण कार्य केही प्रभावित भए पनि निर्धारित समयभित्रै सम्पन्न गरिएको उनले जानकारी दिए । पूर्वाधार विकास कार्यालय मुगुले २०८१ असार चार गते करिब चार करोड ९४ लाख रुपैयाँ लागतमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कार्य २०८३ असार मसान्तभित्र सम्पन्न भई अहिले सञ्चालनमा आएको हो । पुल निर्माणपछि नेर र ताजा गाउँका करिब एक हजार पाँच सयभन्दा बढी स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसबाट मुगुका मात्रै होइन, हुम्लाका बासिन्दाले पनि सहज आवतजावत, सामान ढुवानी तथा व्यापारिक गतिविधिमा लाभ लिन सक्ने अपेक्षा गरिएको छ । स्थानीयका अनुसार पुल सञ्चालनले दुर्गम बस्तीको यातायात, कृषि बजार पहुँच र समग्र आर्थिक गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार