सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार दिउँसो प्रदेश सभाको बैठकअघि नेकपा (एमाले) संसदीय दलको बैठक बोलाएका छन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
उक्त प्रस्तावमाथि शनिबार दिउँसो तिन बजे बस्ने प्रदेश सभा बैठकमा छलफल हुने कार्यसूची रहेको छ । त्यसअघि दलको रणनीति तय गर्न एमाले संसदीय दलको बैठक बसेको एक सांसदले जानकारी दिएका छन् । असार ३२ गते अविश्वास प्रस्ताव दर्ता भएपछि पहिलो पटक मुख्यमन्त्री कँडेलले संसदीय दलको बैठक बोलाएका हुन् । हाल कांग्रेस र नेकपाले आफ्नो अडान यथावत् राखेकाले कँडेल नेतृत्वको सरकार संकटमा परेको छ ।
मुख्यमन्त्री कँडेल भने केन्द्रको राजनीतिक निर्णयको प्रतीक्षामा रहेको उनीनिकट स्रोतले जनाएको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भइरहेको छलफलबाट कुनै राजनीतिक सहमति निस्किने अपेक्षा गरिएको छ । यदि केन्द्रबाट नयाँ राजनीतिक सहमति नभए र विपक्षी दलहरू आफ्नो अडानमा कायम रहे भने मुख्यमन्त्री कँडेलले या त राजीनामा दिने वा प्रदेश सभामा हुने मतदानमार्फत सरकार गुमाउने अवस्था आउने देखिएको छ । कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २० सांसदको समर्थन आवश्यक पर्छ । हाल कांग्रेससँग १५ र नेकपासँग १४ सांसद रहेका छन्, जसका कारण अविश्वास प्रस्ताव पारित हुने सम्भावना बलियो देखिएको छ ।









