सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा कर्णाली प्रदेशकै पहिलो भैंसी विकास स्रोत केन्द्र स्थापना गरिएको छ । व्यावसायिक भैंसीपालनको प्रवद्र्धन, उन्नत नश्ल सुधार र स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले यशोदा कृषि तथा पशुपन्छी फर्मले करिब दुई करोड रुपैयाँ लगानीमा स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्रोत केन्द्रको उद्घाटन गरे ।
उनले प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकतामा राख्दै किसान र युवालाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए । मन्त्री शाहले भैंसी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रमलगायतका योजनामार्फत किसानलाई प्रोत्साहन गर्दै आएको जानकारी दिए । उनले कृषि र पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाएर आत्मनिर्भर बन्न चाहने युवा तथा किसानलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतका प्रमुख डा. ऋषभ गुरागाईंले स्रोत केन्द्रले उन्नत जातका पाडापाडी उत्पादन गरी किसानलाई उपलब्ध गराउन सहयोग पुग्ने बताए । उनले नश्ल सुधार, दूध उत्पादन वृद्धि र व्यावसायिक पशुपालन प्रवद्र्धनका लागि कार्यालयले प्राविधिक सहयोग गर्ने जानकारी दिए । कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले स्रोत केन्द्रले दूध तथा मासु उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले कृषि र पशुपालनलाई एकीकृत गरी व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख कृष्णप्रसाद पंगेनीले उन्नत जातका भैंसीपालनका लागि व्यवस्थित गोठ निर्माण, गुणस्तरीय आहारा, घाँस उत्पादन तथा भण्डारण, मलमुत्र व्यवस्थापन र नियमित पशु उपचारमा ध्यान दिनुपर्ने बताए । वीरेन्द्रनगर–१३ का वडाध्यक्ष दिपेन्द्रराज कोइरालाले करेखोलामा स्थापना भएको स्रोत केन्द्रले स्थानीय युवालाई भैंसीपालन व्यवसायमा आकर्षित गर्दै स्वरोजगार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कृषि तथा पशुपन्छी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रमअन्तर्गत स्थापना भएका भैंसी र स्थानीय जातका कुखुरा स्रोत केन्द्रलाई दर्ता प्रमाणपत्रसमेत वितरण गरिएको थियो। स्रोत केन्द्र सञ्चालनसँगै कर्णालीमा उन्नत भैंसीपालन, नश्ल सुधार र पशुजन्य उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।









